काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोटको सटाही सुविधा असोज २९ गतेदेखि दिने व्यवस्था मिलाइरहेको छ। राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै असोज २९ गतेबाट नयाँ नोटको सटही सुविधा उपलब्ध हुने जानकारी गराएको हो।
असोज २८ गते घटस्थापना परेको छ। यसको मतलब घटस्थापनाको भोलिपल्टबाट नयाँ नोट साट्न पाइनेछ।
काठमाडौं उपत्यकाभित्र रहेका सर्वसाधारणले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्था विभाग र राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएको शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटाही सुविधा प्रप्त गर्न सक्नेछन् ।
साथै, काठमाडौं उपत्यका बाहिरको हकमा बैंकको प्रदेशस्थिगत कार्यालय वा वाणिज्य बैंकले तोकेको कार्यालयमध्ये पायक पर्ने स्थानमा गई नोट सटाही सुविधा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार यसवर्ष पनि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्ने सुविधा प्रदान गरिएको छ। जसअनुसार एक व्यक्तिले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका १–१ बन्डल नयाँ नोट साट्न पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्