दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।
दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए। उनका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ ।
पूर्वाधार विकास कार्यालयले मैनाचुली/सफल जेभी काठमाडौंसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० रूपैयाँमा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौताअनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।
गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार उक्त खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । सो अवसरमा मन्त्रालयका सचिव शंकरप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।
सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिंमार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ ।
गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन ।
उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत ९ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।
उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिने जनाइएको छ ।
दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुईपाङ्ग्रे सवारीसाधन आवतजावत गरे पनि अन्य ठूला सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।
प्रतिक्रिया दिनुहोस्