काठमाडौं । साेमबार नेपाल धितोपत्र बोर्डले आयोजना गरेको विश्व लगानीकर्ता सप्ताहको शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए अर्थमन्त्री डा. प्रकाश शरण महत । उनले बोर्डकै कार्यक्रममा पुगेर नियामक अर्थात धितोपत्र बोर्डकै कारण सेयर बजार घटेको आरोप लगाई दिए । मन्त्री डा. महत त्यतिमा मात्रै रोकिएनन् । उनले सेयर बजारबाट सीमित टाठाबाठाहरुले मात्रै लाभ लिएको र बहुसंख्याक सर्वसाधारण लगानीकर्ता भने बिलखबन्दमा परेको निष्कर्ष सुनाइ दिए ।
कार्यक्रम सकेर होटल हिमालयबाट बाहिर निस्कन लाग्दा मन्त्रीलाई एक दर्जनभन्दा बढी लगानीकर्ताहरुले घेरे । लगानीकर्ताको मनोबल बढाउन किन पहल नगरेको भनी प्रश्न गर्दा डा. महतको सीधा उत्तर थियो–१२ करोडको सीमा हटाउन गभर्नरलाई भनेकै हुँ, टेर्दैनन् तर म के गरुँ ?
झट्ट हेर्दा पुँजी बजारको सुधार र लगानीकर्ताको मनोबल बढाउन लागेको जस्तो देखिए पनि अर्थमन्त्रीका अहिलेसम्मको अभिव्यक्ति र गतिविधि भने ‘सेयर बजार घटोस्र’ भन्नेमै केन्द्रित देखिन्छ ।
सेयर बजार र घरजग्गा कारोबार अप्राकृतिक ढंगले बढ्यो- अर्थमन्त्री डा. महत
त्यसको गतिलो उदाहरण हो, उनले काभ्रेमा व्यक्त गरेको विचार, जसलाई धितोपत्र बोर्डकै कार्यक्रममा पनि उनले पुनः दोहोर्याइ दिए । असोज १२ गते शुक्रबार काभ्रेमा डा. महतले भनेको थिए, ‘सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ ।’ उनले सोही कुरालाई धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालकै अगाडि पुनः दोहोर्याइ दिए ।
अर्थमन्त्री डा. महतले अहिलेसम्म कुनै पनि सार्वजनिक समारोहमा पुँजी बजारको योगदानबारे चर्चा गरेको भेटिन्न । उनले अर्थतन्त्र र निजी क्षेत्रको मनोबल उकास्न पुँजी बजारको भूमिका छ र त्यसको दिगो विकास एंव स्थायित्वकाबारे कहिल्यै एक शब्द खर्च गरेको छैनन् । उनी जहाँ-जहाँ जान्छन्, त्यहाँ पुँजीबजार सीमित व्यक्तिहरुको कब्जामा पुग्यो, चलखेल धेरै भयो, अप्राकृतिक रुपले बढ्यो भन्ने अभिव्यक्ति दिन्छन् । तर, त्यस्तो अप्राकृतिक पुँजी बजारको सुधारका लागि केही कदम चाल्दैनन्, सुधारका उपायबारे खोजी नीति पनि गर्दैनन् ।
त्यसो त उनले नेपाल बिमा प्राधिकरणको वार्षिकोत्सव समारोहमै बिमा कम्पनीहरु नागरिकको पैसा उठाएर भागे भने के हुन्छ ? कसले जिम्मेवारी लिन्छ भन्दै प्रश्न गरेका थिए । उनी बैंक तथा वित्तीय संस्थाहरुको कार्यक्रममा पुगे भने बैंकहरुलाई गाली गर्छन, गभर्नरले असहयोग गरेको टिप्पणी गर्छन् । बिमाका कार्यक्रममा जाँदा बिमा कम्पनीहरुको विश्वसनीयतामा प्रश्न गर्छन् । सबैभन्दा धेरै पुँजी बजारबारे टिप्पणी गर्छन् र लगानीकर्ताको मनोबल झनै कमजोर बनाई दिन्छन् ।
त्यसो त अर्थमन्त्री डा. महतकै कारण अहिले वाणिज्य बैंकहरु सरकारविरुद्ध सर्वाेच्च अदालतको संवैधानिक इजलासमा न्याय मागिरहेका छन् । भूत प्रभावी कर उठाउने हठका कारण आर्थिक रूपले सक्रिय २० लाख लगानीकर्ताको मनोविज्ञानमा एकै पटक ‘नेगेटिभ सर्किट’ लागिसकेको छ ।
मर्जर र एफपीओमा कर असुल्ने डा. महतको हठकै कारण निजी क्षेत्रको मनोबल क्रमशः कमजोर बन्दै गएको थियो र त्यो क्रम अझै द्रुत गतिमा अघि बढिरहेको छ । डा. महतले निजी क्षेत्रको मनोबलमाथि नेगेटिभ सर्किट लगाइदिएका छन् ।
प्रतिक्रिया दिनुहोस्