काठमाडौं । नेपाल बिमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा प्रदेश सरकारसँग बिमासम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिमाको दायरा विस्तारका लागि हरेक नागरिकलाई बिमा किन गर्ने र बिमाबाट के कस्तो फाइदा हुन्छ भन्ने बारेमा बुझाउनु आवश्यक भएको बताए ।
स्थानीयस्तरमा बिमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यमा सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिँदै मुख्यमन्त्री पाण्डेले भने, “बिमा गरेपछि समयमा नै दाबी भुक्तानी पाउनुपर्छ, बिमा कम्पनीबाट दाबी भुक्तानी नपाएर पीडित भएका गुनासाहरू आउने गरेका छन्, त्यस्तो हुनुभएन, बिमाप्रतिको विश्वास बढ्ने गरी कार्य गर्नुपर्छ ।”
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाको विकास एवम् पहुँच विस्तारका लागि प्रदेश सरकारले प्रदेश बिमा नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए । अध्यक्ष सिलवालले बिमामार्फत जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सकिने भएकाले आर्थिक रूपमा सक्नेलाई बिमा गर्न प्रोत्साहन गर्न र न्यून आय भएका वर्ग पहिचान गरी बिमा गर्ने व्यवस्था गर्न सुझाव दिए ।
कार्यक्रममा राखिएका जिज्ञासाहरूको जवाफ दिनहुँदै अध्यक्ष सिलवालले कोरोना बिमाको बाँकी दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा पहल भइरहेको जानकारी दिए । अध्यक्ष सिलवालले बिमासम्बन्धी गुनासा र उजुरीको सुनुवाइ प्राधिकरणले गर्दै आएको उल्लेख गर्दै बिमासम्बन्धी जनचेतना अभिवृद्धि र स्थानीय गुनासाहरूको सम्बोधनका लागि प्राधिकरणका प्रदेश कार्यालयहरूसँग समन्वय गरी अघि बढ्न सकिने बताए ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले बिमाको परिचय, बिमाको पहुुँच, बिमासम्बन्धी विद्यमान कानुनी व्यवस्था, बिमाको पहुँच विस्तारमा प्रदेश सरकारको भूमिकालगायतका विषयमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले कृषि तथा पशुपन्छी बिमामा भएको लगानीलाई मात्र नहेरी त्यसबाट हुने उत्पादनलाई पनि हेर्नुपर्ने, बिमासम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने, स्वास्थ्य बिमालाई बिमाको सिद्धान्तअनुरूप अगाडि बढाउनुपर्ने, प्रदेश सरकारले छुट्याउने गरेको आर्थिक सहायता न्यून आय भएका वर्गलाई बिमाको दायरामा ल्याउन सदुपयोग गर्नुपर्ने, बिमितहरूको पनि नियत राम्रो हुनुपर्ने, सरकार, नेपाल बिमा प्राधिकरण र बिमा कम्पनीहरू आआफ्नो दायित्व बोध गरी अघि बढ्नुपर्ने लगायतका धारणाहरू व्यक्त गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशका मन्त्री, नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक, विभिन्न प्रदेश मन्त्रालयका सचिव लगायत पदाधिकारी, विभिन्न बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बिमा कम्पनीका प्रदेश कार्यालयहरूका प्रमुखहरूलगायतको सहभागिता थियो ।कार्यक्रमको सञ्चालन नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयका प्रमुख केशवप्रसाद दाहालले
गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्