काठमाडौं । नेपालमा चौतर्फी आलोचना खेपिरहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशमा भने तारिफ पाएका छन् । अर्थतन्त्रलाई ट्रयाकमा ल्याएको भन्दै गभर्नर अधिकारीको बरियतामा पनि सुधार आएको छ ।
विश्वका केन्द्रिय बैंकका गभर्नरहरुको परफरमेन्स जाँच्ने ग्लोबल फाइनान्सियल म्यागेजिनले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीको ठिक नीतिका कारण नेपालको अर्थतन्त्र ट्रयाकमा आएको रिपोर्ट तयार पारेको हो ।
अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा गभर्नर अधिकारीको कार्यक्षमतामा सुधार आएको भन्दै ‘बी माइनस ग्रेड दिएको हो । सन २०२२ मा सी ग्रेडमा रहेका गभर्नर अधिकारीले सन २०२३ मा ‘बी माइनस’ ग्रेड पाएका हुन् । यसले गभर्नर अधिकारीको परफरमेन्समा सुधार आईरहेको देखाउँछ ।
नेपालमा प्रधानमन्त्री, अर्थमन्त्रीदेखि निजी क्षेत्रको समेत चर्काे आलोचना खेपिरहेका गभर्नर अधिकारीलाई विश्वको प्रतिष्ठित म्यागेजिनले भने अब्बल गभर्नरहरुका रुपमा ग्रेड वृद्धि गरिदिएको हो ।
गभर्नर अधिकारीको नेतृत्वमा सन् २०२३ को पहिलो ८ महिनामा अर्थतन्त्रका प्रमुख वित्तीय सूचकहरु ‘राइत ट्रयाकमा’ आएको पत्रिकाले उल्लेख गरेको छ । पत्रिकाका अनुसार सो अवधिमा रेमिट्यान्स २५ प्रतिशतले बढेको छ भने कुल विदेशी मुद्रा सञ्चिति १५ प्रतिशतले बढेर करिब ११ महिनाको बस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था पुगेको थियो ।
ब्याजदर केहि घटेको र मुद्रास्फीति पनि जुलाई महिनामा ७.४ प्रतिशतमा झरेको म्यागेजिनको रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्