काठमाडौं । नेपाल बैंकले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा एक कार्यक्रम आयोजना गरी उद्घाटन गरेको छ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेस प्रालिका प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयुक्त रूपमा रिबन काटी कल सेन्टरको उद्घाटन गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।
यसैगरी कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गौरवपूर्ण इतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकहरुसँग जोडिएर काम गर्न पाएकोमा अत्यन्त खुसी व्यक्त गर्दै नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंकका ग्राहकवर्गका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोसेढुंगा सावित हुने बैंकले विश्वास लिएको छ ।
नेपालभर २ सय २८ शाखा, २ सय ४ एटिएमका साथै ५७ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ प्रविधिमार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्