काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतीलाई पार गर्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरुबिच सहकार्य जरुरी रहेको बताएका छन् । जापानको राजधानी टोकियोमा आयोजित एसियन रोजगारदाता सम्मलेनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
एफएनसीसीआईका अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरु दोहो¥याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबिचको सहकार्य र सवन्वयबाटमात्र यी चुनौतीको सामना गर्न सकिने बताए ।
ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण गराए। उनले सम्भावित असमानताहरुलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौना उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक सम्वादको सुदृढीकरणमा नेपाल प्रतिवद्ध रहेको समेत बताए । नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदियमान मुलुक, चीन र भारतको बिचमा रहेकोले, नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताए ।
उनले नेपालको जलविद्युत, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताए । आफ्नो भनाइको अन्त्यमा अध्यक्ष ढकालले विकसित विश्वव्यापी समस्यालाई कम गर्न सबैको साथ र सहयोगका लागि समेत अपिल गरे ।
प्रतिक्रिया दिनुहोस्