काठमाडौं । रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आईएमई गरौँ,करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ ।
आईएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पनि पाउने छन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन्।
आईएमई गरी आइएमई पे वालेट र बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् । यो योजना २०८० असोज २ गतेदेखि २०८१ भदौ मसान्तसम्म लागू हुनेछ ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकका रूपमा काम गर्ने बताए।
साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस्