Shikhar Insurance
National Life

करका दुवै हाकिम ‘फेल’- ३९ अर्ब कम राजश्व उठेपछि दबाबमा अर्थमन्त्री

प्रकाश वाग्ले
२०८० आश्विन २, मंगलवार १५:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । भन्सार विभाग र आन्तरिक राजश्व विभागका दुवै हाकिम फेल भएका छन् । चालु आर्थिक वर्षको पहिलो २ महिनामा गत वर्षको सोही अवधीको भन्दा पनि कम राजश्व उठेपछि करका दुवै हाकिम फेल मात्रै भएनन्, उनीहरुको कार्य क्षमतामै प्रश्न पनि उठेको छ ।

चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सरकारले १ खर्ब ७३ अर्ब रुपैयाँ राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, आन्तरिक राजश्व विभागले भन्सार विभागले मुस्किलले १ खर्ब ३४ अर्ब रुपैयाँ मात्रै राजश्व संकलन गर्न सकेका छन् । यो सरकारले तय गरेको लक्ष्यभन्दा ३९ अर्ब अर्थात २२.५२ प्रतिशतले कम हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारले भदौसम्ममा आन्तरिक राजस्व विभागका लागि ८४ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको थियो । तर, विभागले जम्मा ६६ अर्ब १९ करोड रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ । गत वर्ष गत आर्थिक वर्षको भदौ मसान्तसम्म विभागका लागि ७५ अर्ब ६० करोड रुपैयाँ राजस्व लक्ष्य दिइएको थियो जसमा विभागले ६७ अर्ब ९१ करोड रुपैयाँ उठाएको थियो। यसपाली भने विभागले गत आवको भदौ मसान्तको भन्दा पनि १ अर्ब ७२ करोड रुपैयाँ अर्थात २.५३ प्रतिशतले कम राजश्व मात्रै उठाउन सकेको हो ।

यसपाली आन्तरिक राजश्व विभागले लक्ष्यभन्दा १७ अर्ब ८६ करोड रुपैयाँ अर्थात २१.२४ प्रतिशतले कम राजश्व उठाएको हो । भन्सार विभागले पनि भदौसम्ममा ८९ अर्ब १० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । तर त्यसमा विभाग जम्मा ६७ अर्ब ९५ करोड रुपैयाँ मात्रै उठाउन सफल भयो । गत आर्थिक वर्षको भदौ मसान्तसम्ममा भन्सार विभागले ९० अर्ब २८ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएकोमा ६७ अर्ब ४२ करोड रुपैयाँ मात्रै उठाउन सकेको थियो । यसपाली भने भन्सारले ५३ करोड अर्थात ०.७७ प्रतिशतले बढी राजश्व उठाएको छ । तर यो चालु आर्थिक बर्षका लागि तोकिएको लक्ष्यभन्दा २१ अर्ब १५ करोड रुपैयाँ अर्थात २३.७३ प्रतिशतले कम हो ।

करका दुवै हाकिमको कार्य क्षमतामा गम्भीर प्रश्न
आफैंले रोजेर आन्तरिक राजश्व विभाग र भन्सार विभाग सम्हाल्न गएका हाकिमहरुको कार्य क्षमतामा गम्भीर प्रश्न उठेको छ । पहिलो २ महिनामै राजश्व संकलन लक्ष्य ३९ अर्बले न्यून देखिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत दबाबमा परेका छन् । बजेट र करका दरहरु तय गर्ने काममै संलग्न दीर्घराज मैनालीले आन्तरिक राजश्व विभागको नेतृत्व सम्हालिरहेका छन् । उता, भन्सार विभागमा मन्त्री डा. महतका विश्वास पात्र शोभाकान्त पौडेल महानिर्देशकको जिम्मेवारीमा छन् । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ हर्ब ५४ करोड १७ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य कायम गरेको छ ।

दबाबमा अर्थमन्त्री डा. महत
पहिलो दुई महिनामै राजश्व संकलन लक्ष्यभन्दा ३९ अर्बले कम भएपछि अर्थमन्त्री डा. प्रकाश करण महत दबाबमा परेका छन् । कांग्रेस पृष्ठभूमिका शोभाकान्त पौडेललाई डा. महत आफैंले भन्सार विभाग पठाएका हुन् । यसअघि नै आन्तरिक राजश्व विभागको महानिर्देशक भइसकेका पौडेलले भन्सार प्रशासन सुधार, चुहावट नियन्त्रण र राजश्व संकलनमा राम्रो काम गर्ने अपेक्षा गरिएको थियो । तर, उनको कार्य सम्पादन पनि गतिलो नदेखिएपछि विकल्प खोज्नुपर्ने दबाबमा अर्थमन्त्री पुगेको स्रोतले बतायो ।

उता, एमाले पृष्ठ भूमिका दीर्घराज मैनाली भने तत्कालीन अर्थमन्त्री जनार्दन शर्माका समयदेखि नै भन्सार विभागको कमाण्ड सम्हालिरहेका छन् । शर्माले विभाग पठाएका मैनालीलाई विष्णु पौडेलले थमौती दिएका थिए भने डा. महतले अर्थको नेतृत्व गरेपछि पनि उनी विभागमै छन् । करका दरहरु निर्धारणमा गलत सुझाव दिएको भन्दै मैनालीलाई हटाउन अर्थमन्त्रीमाथि चर्काे दबाब थियो । विशेष गरी आर्थिक विधेयकको २६, २७ र २९ नम्बरमार्फत मर्जर र एफपीओको रकममा कर लगाउने व्यवस्थाले सरकारसँग निजी क्षेत्र चिढिएको छ । बाणिज्य बैंकका सीईओहरुको छाता संस्था नेपाल बैंकर्स संघको नेतृत्वमा सर्वाेच्च अदालतमा सरकारका विरुद्ध मुद्दा नै दायर भइसकेको छ । व्यवसायी पनि चिढिने, कर पनि लक्ष्य अनुसार नउठेपछि अर्थमन्त्री डा. महतले दुवै विभागका लागि वैकल्पिक नेतृत्वको खोजी थालेको स्रोतले बतायो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्