Shikhar Insurance
National Life

नवलपरासी यातायात कार्यालयबाट १२ करोड राजश्व संकलन

सिंहदरबार संवाददाता
२०८० आश्विन १, सोमबार १२:५९
Hyundai
NCELL
NIMB
नवलपरासी ।  नवलपरासी  (बर्दघाट–सुस्ता पश्चिम)  जिल्ला सदरमुकाम परासीस्थित यातायात ब्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष ०७९/०८० मा यातायात सेवासम्बन्धी सेवाबाट  कुल १२ करोड रूपैयाँभन्दा बढी  राजश्व संकलन गरेको छ ।
विगत वर्षमा भैरहवा र बुटवलबाट सेवा लिँदै आएका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का बासिन्दालाई जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले कार्यालय सञ्चालनमा ल्याएकाले यातायात सेवासँगै राजश्व सङ्कलन पनि बढेको कार्यालयले जनाएको हो ।
विभिन्न चार शीर्षकमा यस कार्यालयले गत आर्थिक वर्षमा कुल १२ करोड ८६ लाख चार हजार तीन सय ९५ रूपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेयले जानकारी दिए।
उनका अनुसार कार्यालयबाट गत आर्थिक बर्षमा यातायात क्षेत्रको आम्दानी, सवारी दर्ता किताबसम्बन्धी  दस्तुर, सवारी साधन कर र आयकरमा राजश्व संकलन हुँदै आएको छ ।
यातायात क्षेत्रको आम्दानी  १५ लाख ५५ हजार ६५ रूपैयाँ, सवारी दर्ता किताब सम्बन्धी दस्तुर   एक करोड ७ लाख ९ हजार दुई सय ५० रूपैयाँ रहेकामा ९ सवारी चालक अनुमतिपत्र नवीकरणबाट आठ लाख दुई हजार पाँच सय रूपैयाँ, सवारी साधन करबाट ११ करोड १४ लाख ९४ हजार ७५ रूपैयाँ  र आयकरबाट ४८ लाख ४६ हजार पाँच रूपैयाँ  गरी कुल  १२ करोड ८६ लाख चार हजार तीन सय ९५ रूपैयाँ सङ्कलन भएको थियो ।
यातायात कार्यालयले गत वर्षमा १७ हजार १ सय ९० वटा सार्वजनिक तथा निजी सवारी साधन नवीकरण, सात सय ९४ वटा सवारी साधनको जाँचपास तथा नवीकरण, एक सय ५३ वटा बाटो इजाजत, एक हजार सात सय २४अस्थायी बाटो इजाजत  र सात सय ६५ वटा ओभरलोड बोकेको भारतीय सवारी साधनलाई कारबाही  र तीसय ४८ वटा सवारी चालक अनुमतिपत्र नवीकरण गरिएको कार्यालयप्रमुख पाण्डेयले बताए ।
गत आर्थिक वर्षका साथै यो वर्षको एक महिनाको थप राजश्वसमेत सङ्कलन भएको बताउँदै  उनले अहिले केही सेवा थप भएको हुँदा राजश्व वृद्धि हुनसक्ने जिकिर गरे । यस कार्यालयको पहिलो प्राथमिकता नागरिकलाई सेवा प्रदान गर्नु हो, उनले भने,  सेवाबापत लाग्ने दस्तुरबाट राजश्व पनि सङ्कलन गर्ने दोस्रो प्राथमिकता हो । अहिले राजश्व सङ्कलनसँगै जिल्लाबाटै यहाँका नागरिकले सेवा पाउँदा राहत पनि भएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा पनि ५७ वटा सवारी साधनको स्थायी बाटो इजाजतपत्र (रुट) नवीकरण, एकसय सय ४१ सार्वजनिक सवारी साधनको प्राविधिक जाँचपास, ३ सय ७८ अस्थायी बाटो इजाजतपत्र (पटके) सेवा गरी कुल पाँच सय ७६ वटा सवारीसाधनसम्बन्धी सेवा प्रदान गरिएको छ ।
साउन महिनाभित्र सवारी साधन करबाट ९० लाख १५ हजार २ सय ८० रूपैयाँ, सवारी नवीकरणबाट ६ लाख २४ हजार ३ सय रूपैयाँ, सवारी चालक अनुमतिपत्रबाट १० लाख ३० हजार रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट  दुई लाख ३३ हजार ९ सय ५० रूपैयाँ  र आयकरबाट २ लाख ३० हजार ६ सय रूपैयाँ गरी कुल १ करोड ११ लाख ३४ हजार १ सय ३० रूपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ । यस जिल्लाभित्र नै बजाज र होण्डा कम्पनीको मोटरसाइकलको एसेम्बल गर्ने कारखाना छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्