काठमाडौं । साउन महिनामा मुलुकको आयत–निर्यात र कुल ब्यापार घाटामै कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा मुलुकको आयात १.६ प्रतिशतले, निर्यात ८.७ प्रतिशतले र कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवालगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, औषधी (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ । पहिलो महिनामा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई १२९ अर्ब २४ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकबाट भएको आयात २३.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा धान तथा चामल, एमएस तार, छड, बार तथा क्वाइल, रासायनिक मल, हट रोल्ड शिट, विद्युत्तीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एमएस विलेट लगायतका वस्तुको आयात घटेको छ ।
साउनमा मुद्रास्फीति पनि ७.५२ प्रतिशत कायम भएको छ । साउनमा रेमिटेन्स भने रुपैयाँमा २५.८ प्रतिशतले बढेको छ । साउनमा रेमिटेन्स आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई ११६ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही
अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।
साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९,१५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले कमी आई १६,४२३ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो ।
मुलुकको शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १५ खर्ब ७३ अर्ब १२ करोड र अमेरिकी डलरमा ११ अर्ब ८५ करोड रहेको छ । साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्