काठमाडौं । नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) ले संयुक्त रुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गर्ने भएको छ। सन् २०१९ बाट सुरु भएको यो सम्मेलनको पहिलो र दोस्रो सिखर सम्मेलनमा पनि राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजकका रुपमा साझेदारी गरेको थियो ।
तेस्रो सिखर सम्मेलनको भदौ ३० गते शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । सो सम्मेलनमा संघीय सरकारका अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, वरिष्ठ उद्यम डा. उपेन्द्र महत्तो, चन्द्र ढकाल, भवानी राणालगायतका वक्क्ता छन् ।
सम्मेलनमा सहकार्यबारे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा सम्मेलन मूल आयोजक कमिटिका संयोजक विशाल गैरे र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।
उद्यमी बन्न युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धि हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० का निर्माण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धिमूलक हुने आयोजक संस्था राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
समझदारी कार्यक्रममा बोल्दै राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पछिल्लो बित्तिय चुनौतीको सामनाका लागि युवाहरुलाई आर्थिक क्रियाकलापमा सहभागी गराउँदै स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए ।
त्यसैगरी नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले ७० जिल्लामा ५ सय युवा उद्यमीह श्खिर सम्मेलनमा सहभागी हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्