काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नियामकको सूक्ष्म नियन्त्रणले नेपाली अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)काे नाडा अटो सो २०२३ को उद्घाटन समारोहमा बोल्दै महतले उक्त कुरा बताएका हुन् ।
अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकतर्फ इन्कित गर्दै भने, “बैंकहरूमा प्रसस्त मात्रामा लगानीयाेग्य रकम रहेकाे छ तर नियामककाे नियन्त्रणका कारण लगानी हुन सकेन जसकाे असर समग्र अर्थतन्त्रमा देखा परेकाे छ । नियामकले नियन्त्रण गर्नेभन्दा पनि नियमन गरेर बाँकी कहाँ र कति लगानी गर्ने भन्ने कुरा बैंकहरूलाई छाड्नुपर्छ । नियामक निकायको माइक्रोम्यानेजमेटले बैंकिङ क्षेत्रमा केही समस्या देखा परेको छ । यो धेरै समय रहँदैन, छिट्टै समाधान हुनछ । यसमा अलिक ब्रोडली सोच्ने हो भने अर्थतन्त्रमा अरू समस्या छैन ।”
साेही क्रममा महतले निजी क्षेत्रलाईसमेत पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भने, “नेपालको पूर्वाधार क्षेत्रमा निजीक्षेत्र आउन हिच्किचाएको छ । त्यसैले हामी पूर्वाधारमा पछि परेका छौं । यातायात क्षेत्रमा मात्र हैन पूर्वाधारमासमेत आउनुस् ।”
नेपाली अर्थतन्त्र सकारात्मक बाटाेमा रहेका जिकिर गर्दै अर्थमन्त्री महतले भने, “वैदेशिक संचितिको समस्या पूरै समाधान भैसक्यो, अर्थतन्त्र सकारात्मक बाटोमा छ, अब यो बहस चै चलाउनुपर्छ । निजी क्षेत्रका जायज प्रस्तावमा हामी सकारात्मक छौं । अब सवारी लक्जरीको साधन रहेन, ग्रीन इकोनोमी प्रमोट गर्न, आफ्नै बिजुली सवारीलाई प्रोत्साहान गर्न इभीमर्फत गाडीहरुमा समेत कर छुटको व्यवस्था गरिएको छ जुन बढ्ने बाला छैन । अटो क्षेत्रका अन्य समस्यासमेत समाधान हुन्छ । अब अटो डिलर मात्र हैन उत्पानमा लाग्नसमेत म अनुरोध गर्छु । डिलरलगायतको खर्च कटौती गरेर उपभोक्तालाई थप राहात दिन म यहाँहरूलाई अनुरोध गर्छु । यसमा सरकारले हर किसिमले सहयोग गर्छ ।”
प्रतिक्रिया दिनुहोस्