काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताएका छन्।
बीपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बीपी कोइरालाको एक सय १०औं जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक विचार गोष्ठीमा’ बोल्दै उनले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेकाले यसलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए।
उनले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताए । अर्थमन्त्री डा. महतले लुम्बिनी र पोखरा विमानस्थलभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे । उनले अबको चार वर्षसम्म काठमाडौँ–तराई द्रुत मार्ग बनिसक्ने र त्यही अवधिमा विमानस्थल पनि बनाइसक्ने बताए ।
अर्थमन्त्री डा. महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको स्पष्ट पार्नुभयो । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने उनको भनाइ थियो । अर्थमन्त्री डा. महतले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अझै सरकारले लगानी बढाउनुपर्ने उनको भनाइ थियो । उनले निजी क्षेत्रले उत्पादन गरेकामा वितरणको नेतृत्व सरकारले लिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्