Skip to content
Shikhar Insurance
National Life

आर्थिक क्रान्तिलाई अगाडि बढाउन कांग्रेसको महत्त्वपूर्ण भूमिकाः नेता सिंह

Hyundai
NCELL
NIMB

ललितपुर। पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका-११ स्थित चापागाउँको प्याङ्गाउँमा आज आयोजित वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा नेता सिंहले नेपाली कांग्रेसकै नेतृत्वमा २००७, २०४६ र २०६२/६३ को राजनीतिक परिवर्तन भएको जनाउँदै आर्थिक क्रान्तिको मार्गमा देशलाई अगाडि बढाउन पनि कांग्रेसको महत्त्वपूर्ण भूमिका हुने बताए ।

“अहिले देशलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन आवश्यक छ । यसका लागि सक्षम पार्टी भनेकै कांग्रेस हो । आर्थिक विकाससँगै खेलकुद क्षेत्रको विकास गर्नु पनि आवश्यक छ”, उनले भने, “नेपालको खेल जगत्लाई प्रोत्साहित गर्न र खेलाडीको प्रतिभा प्रस्फुटन गरी अगाडि बढाउन खेलसँग सम्बन्धित धेरै प्रतियोगिता गर्नुपर्ने आवश्यक छ ।”

खेलाडीले व्यक्तिगत आकाङ्क्षालाई थाँती राखेर कर्ममा अनवरतरूपमा लागिरहनुपर्ने भन्दै नेता सिंहले गणेशमान सिंहको जीवनीबाट त्याग र सङ्घर्षका धेरै कुरा सिक्न सकिने धारणा राखे ।

पूर्वअर्थराज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशमशेर राणाले पदको मोह सबैलाई हुने बताउँदै पदको मोह त्यागेर कर्ममा क्रियाशील हुनुपर्ने धारणा राखेका थिए । “हरेक क्षेत्रमा काम गर्दा पदको मोह सबैलाई हुन्छ । प्रधानमन्त्री पदको मोह त्यागेर देश र जनताका लागि सबैलाई मिलाउनुपर्छ भनेर लाग्नुहुने नेता गणेशमान सिंहको नाममा आयोजित खेलकुद प्रतियोगितामा हामी छौँ”, उनले भने, “पदका लागिभन्दा पनि नागरिक र जनताको हितका लागि प्राथमिकता दिएर काम गर्नुपर्छ।”

राणाले खेलकुदका लागि सरकारको सीमित बजेट भए पनि निजीस्तरबाट सहयोग लिएर भए पनि कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले खेलकुद क्षेत्रको माया गर्ने शुभचिन्तक व्यक्तित्वको सक्रियतामा हुने प्रतियोगिता र कार्यक्रमले सफलता पाउने विश्वास व्यक्त गरे।

बागमती प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले खेलाडीलाई उत्साहित गर्न आयोजित प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण हुने बताए । “खेलकुदले राष्ट्रलाई चिनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । खेलकुदको माध्यमबाट सांस्कृतिक र पर्यटकीय विकास गर्न सकिनेमा दुईमत छैन”, उनले भने ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले बक्सिङ प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले प्रदेशले खेलकुद नीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गोदावरी खेलकुदमय नगरपालिकाको रूपमा अगाडि बढिरहेको बताउँदै खेलकुद क्षेत्रको विकासलाई उचाइमा पुर्‍याइने बताए । उनले यस कार्यमा सहयोग र समन्वय गर्न सम्बन्ध सबैलाई आग्रह समेत गरे ।

आजबाट सुरु भएको प्रतियोगिता भदौ २३ गते शनिबारसम्म सञ्चालन हुनेछ । ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा महिलातर्फ ५०, ५५, ६०, ६५ केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी पुरुषमा ५०, ५५, ६०, ६५, ७० केजी र खुला तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तेस्रो हुने दुई खेलाडीले आठ/आठ हजार रूपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही  २५/२५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्ने महर्जनले बताए ।

खेलमा प्रथम हुने टिम च्याम्पियनले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिम च्याम्पियनले  ५० हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्