Skip to content
Shikhar Insurance
National Life

बागलुङमा खेल मैदान अभाव

Hyundai
NCELL
NIMB

ढोरपाटन । बागलुङका हरेक गाउँमा खेलाडी छन् । भौगोलिक विकटता र पर्याप्त खेल मैदान नहुँदा खेल्ने अवसर भने पाउन सकिरहेका छैनन् । भलिबलका लागि बढी चर्चित छ बागलुङ । बालबालिकादेखि  वृद्धवृद्धासम्मले भलिबल खेललाई निकै रुचाउँछन् ।

हिउँदको समयमा खेतबारीकै कुनामा बार लगाएर खेल्ने गरे पनि बर्खायाम भने खेल खेल्नबाट वञ्चित हुँदै आएका छन्। तेक्वान्दो, कराते, फुटबललगायतका खेल यहाँ बढी खेल्छन् । खेलेर क्षमता अभिवृद्धि गर्नुपर्ने खेलाडी खेल्ने स्थानको अभावका कारण पडाडि पर्नुपरेको छ । बर्खा सकिन थालेपछि अब चाडपर्वको याम सुरु हुन थालेको छ । धेरै ठाउँमा खेलकुद प्रतियोगिताको तयारी छ ।

बालबालिका र युवाको खेलाडी बन्ने चाहना हुँदाहुँदै पनि उपयुक्त खेल मैदान नहुँदा पछाडि पर्नुपरेको छ । अधिकांश ठाउँका खेल प्रशिक्षकले विद्यालय परिसरमा प्रशिक्षण दिँदै आएका छन् । केही स्थानमा मात्रै कभर्ड हल र खेल मैदानमा  प्रशिक्षण दिइन्छ । निसीखोला गाउँपालिका–४  तेक्वान्दो सिकाउँदै आएका सुरजन बुढा मगरले खेल्ने ठाउँ अभावले जोखिम मोलेर खेलाडीलाई प्रशिक्षण दिनुपरेको गुनासो गरे।

“अभ्यास गराउन समस्या छ, उपयुक्त खेल मैदान छैन । विद्यालयको खेल मैदानमा छरिएका ढुङ्गा तथा कङ्क्रिटले खेलाडीलाई चोटपटक लाग्ने गरेको छ”, उनले भने।

खेलको अभयास गराउन पर्याप्त ठाउँ आवश्यक पर्छ । साँघुरो ठाउँमा खेलाउनु पर्ने बाध्यता छ । खेल मैदान बनाउन ठाउँ भए पनि आर्थिक समस्याका कारण बनाउन नसकिएको बुढा मगरले बताए। खेल खेल्ने वातावरण नहुँदा कतिले खेल क्षेत्रबाट टाढा बस्नु परेको छ । गाउँका खेत तथा साँघुरो बारीमा खेल्दै हुर्किएका कयौँ खेलाडी अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेल खेलिरहेका छन् । उनीहरुले आफ्नो पहिचानलाई थप उँचो बनाएका छन् भने राष्ट्रकै शान बनेका छन् । क्रिकेटर करण केसी, भलिबल खेलाडी रवी केसी, दिल सुनार, सुनिल घर्ती, दुर्गाबहादुर सुनार, सोफिया पुनलगायत खेलाडी राष्ट्रियस्तरमा चर्चित छन् ।

खेल मैदान अभावमा गुज्रिएका सयौँ खेलाडी अहिले पनि माथिल्लोस्तरको खेल कसरी खेल्न सकिन्छ भन्नेमा अन्यौलमा छन् । जिल्ला सदरमुकाम बागलुङ बजारमा समेत व्यवस्थित खेल मैदान छैन । बाङ्गेचौर खेल मैदान पनि अव्यवस्थित छ । बागलुङ भलिबलका लागि प्रख्यात भए पनि गतिलो खेल मैदान नहुँदा धेरै बालबालिका तथा युवा खेल्नबाट वञ्चित भएको भलिबल खेलाडी रेशम थापा बताउछन्।

“बागलुङबाट धेरैले राष्ट्रकै नेतृत्व गरेर खेल खेल्दै आएको छ, भलिबलका लागि उर्बर बागलुङमा अहिलेसम्म गतिलो खेल मैदान छैन, अन्य खेलका लागि पनि खेल्ने ठाउँ छैन”, उनले भने– “न खेल मैदान छ, न त खेल प्रशिक्षक नै । यस्तोमा कसरी राम्रो खेलाडी उत्पादन हुन्छन् ?”

जिल्ला भलिबल संघका अध्यक्ष योगेश भण्डारीले युवा तथा बालबालिकाको भलिबलतर्फ आकर्षण बढ्दै गएको बताए। खेल मैदान र खेलकुद सामग्री अभाव छ । “सरोकारवाला निकायलाई खेल मैदान, खेलकुद सामग्री, प्रशिक्षकलगायतका लागि गुहार्दै आएका छौँ”, उनले भने।

GBIME

प्रतिक्रिया दिनुहोस्