काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फछयौट गर्न एसपीआईएल–डिआइजीआई प्रणाली प्रचलनमा ल्याएको छ।
सरल र सहज बीमा सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथ नेपाली बीमा जगतमा पहिलो पटक प्रचलनमा ल्याएको एसपीआईएल–डिआइजीआईको प्रयोगले बीमितहरुले सहज रुपमा अनलाइनबाटै बीमालेख खरिद गर्न सक्नेछन् भने निश्चित रकम सम्मको बीमा दाबी फर्छयौट गरी भुक्तानी समेत प्राप्त गर्न सक्नेछन् ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्री सुरेशलाल श्रेष्ठद्वारा संयुक्त रूपमा एक समारोहका विच एसपीआईएल–डिआइजीआई प्रणालीको शुभारम्भ गरेका हुन्।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले कम्पनीको प्रयासलाई सराहना गर्दै यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न शुभकामना दिएका छन्। कम्पनीका अध्यक्ष श्रेष्ठले कम्पनीले विद्युतिय माध्यमवाट प्रभावकारी बीमा सेवा प्रदान गर्न क्रियासिल रहेको बताए ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले क्रमिक रुपमा बीमा सेवालाई प्रविधियुक्त बनाउने हाम्रो लक्ष्य अनुरुप यो पहिली प्रयास भएको र यसलाई अझ प्रभावकारी बनाउने तर्फ थप क्रियासिल रहने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, “प्रबिधि मैत्री नभए पछि परिन्छ, हामीले डिजिटल भुक्तानी प्रणाली ल्यायौ । हामी बीमामा डिजिटलाईजेसन गर्ने पहिलो कम्पनी हौं । बीमामा डिजिटलाईजेसन अनिवार्य भैसकेको छ। यसले सेमि अटोमेशन सेवा दिन्छौं । अनलाइनबाट पोलिसी जारी हुन्छ र दावी भुक्तानी पनि अनलाइन बाट नै दिन्छौं ।”
एसपीआईएल–डिआइजीआई डिजिटल प्रणाली भएको हुँदा अनलाईन भुक्तानी मार्फत कम्पनीमा बिमा शुल्क भुक्तानी गरी भौतिक रुपमा उपस्थिति विना विमालेख खरिद गर्न सकिनेछ । बिमितले निश्चित रकम सम्मको बीमा दावी फछयौट गरी भुक्तानी लिन र बीमा दावीको अवस्थाको वारेमा जानकारी समेत लिन सक्नेछन् । यसवाट समय र लागत घट्न जाने र झन्झट रहित तरिकाबाट बीमा सेवा लिन एवम् प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्