Skip to content
Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन पुनः ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ३१.५२ अंक घटेर २०१३.९३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६८ अंक घटेको छ।

नेप्से घटेपनि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन मकर जीतुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ८.५४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन समता घरेलु लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, घोराही सिमेन्ट्को करिब ७ करोडको सेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५१ करोडको सेयर कारोबार भएको बजारमा यस दिन २७५ कम्पनीको ४० हजार ८०० पटकको कारोबारमा १ अर्ब ५५ करोड ५ लाख रुपैयाँ बराबरको ४६ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

१३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.९२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्