काठमाडाैं । नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भदौ ७ गते बिहीबारदेखि सुरु हुँदै छ । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको अवसर पारेर आयोजना गर्दै आइरहेको छ ।
ई–आर्टस् नेपालका सहसंस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा भने, ‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । नेपाली कलाको कमी थियो, त्यही अवस्थालाई मनन् गर्दै नेपाली कलाकारहरुको समकालीन अवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छाैं ।’
नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोलले बताए । पहिला–पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गीय परिवारलाई लक्षित गरी यस कला प्रदर्शनी गर्न लागिएको हो । करिब ८० भन्दा बढी कलाकारले आप्mनो कला प्रदर्शनीमा राखेका छन् ।
नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरु बताउनु हुन्छ । किनकी यस प्रदर्शनीमा नेपालका कलाक्षेत्र कुन ठाउँमा छ भनेर बुझ्नसमेत यस प्रदर्शनीले मदत गर्छ । कलाको विकासलाई हेर्ने आधारसमेत यसले तय गर्न सक्छ ।
सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट सुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग कुराकानी गरेर उनीहरुको सहयोग लिँदै थप कलाकारहरु थप्दै गएको कलाकार डंगोल बताए। यही कारणले गर्दा पनि यो कला प्रदर्शनी एक बृहद सामुहिक मेलाको रुपमा बर्सेनि आयोजना भइहरहेको छ ।
अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरुदेखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ । विधागत हिसावले हेर्ने हो भने ‘टु डी’ र ‘थ्री डी’ डाइमेन्सनका कलाहरु यस प्रदर्शनीमा समावेश गरिएका छन् ।
कलाकारहरुः कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रदीप बज्राचार्य, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता केसी, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरुमा इशान परियार, सविता डंगोल, सुजन डंगोल, मुना भडेल लगायत करिब ८० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।
प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रमसमेत सन् २०१९ देखि गर्दै आइरहेको ई–आर्ट्स नेपालका सहसंस्थापक भाइराज मर्हजन बताए। यसपाली भने उक्त स्थानमा कलाकार वरिष्ठ मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुका कलाकृतिलाई प्रदर्शनीमा राखिने कुराको जानकारी समेत उनले गराए।
हिमाल, पहाड, तराईका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार तथा ई–आर्ट्स नेपालका सहसंस्थापक एरिना ताम्राकारले बताइन् ।
थकालीले कला प्रदर्शनीको भ्रमण गराउने कार्यक्रम रहेको छ भने कलाको विषयमा कुराकानी पनि हुनेछ । जसमा प्यानल छलफल हुने आयोजकले जनाएको छ । प्रदर्शनीको दौरान कलाकार प्रशान्त श्रेष्ठको सम्झनामा राखिएको प्रशान्त छात्रवृत्ति समेत तीन जना युवाकलाकारलाई वितरण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्