Shikhar Insurance
National Life

बागलुङमा चारपाङ्ग्रेको लाइसेन्स परीक्षा पुनः सञ्चालन हुँदै

सिंहदरबार संवाददाता
२०८० भाद्र ५, मंगलवार १०:४१
Hyundai
NCELL
NIMB

म्याग्दी । म्याग्दीलगायत साविक धवलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ ।

नयाँ मापदण्डअनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुनसकेको थिएन । यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिंह थापाले यसै महिनादेखि चारपाङ्ग्रे सवारीसाधनको ‘लाइसेन्स’ परीक्षा सुरु गर्ने ट्रायल सेन्टर छनोट भइसकेको जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारीसाधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरेका थियौं”, उनले भने, “प्रतिस्पर्धामार्फत छनोट भएको धवलागिरि ड्राइभिङ सेन्टर प्रालि बागलुङलाई सम्झौताका लागि बोलाएका छौं ।”

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्स्टिच्युटले बनाएको संरचना भाडामा लिन लागेको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

“कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गर्न लागिएको हो”, प्रमुख थापाले भने, “लामो समयसम्म चारपाङ्ग्रेको ट्रायल रोकिँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राही लाइसेन्सका लागि बाहिर जानुपर्ने बाध्यता अब हट्छ ।”

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धाैलागिरि क्षेत्र लाभान्वित हुने बताए । “बागलुङमा चारपाङ्ग्रेको ट्रायल सञ्चालन गर्न मन्त्रालयले चासो र पहल लिएको छ”, उनले भने, “बागलुङमा परीक्षा सञ्चालन नहुँदा कास्कीलगायतका कार्यालयमा सेवाग्राहीको चाप पनि घट्छ ।”

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागू भएपछि बागलुङमा ठाउँ अभावका कारणले चारपाङ्ग्रेको ट्रायल हुनसकेको थिएन । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ । दैनिक सयौँ जनाले लाइसेन्सका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन्छन् ।

सवारी चालक अनुमतिपत्र सेवालाई सहज र छरितो बनाउन अनलाइन भुक्तानी सेवा गण्डकी प्रदेशबाटै सुरु भएको छ । तत्काललाई कास्कीबाट सुरु भएको उक्त सेवा छिट्टै बागलुङ, तनहुँ र नवलपुर कार्यालयबाट पनि सुरु हुने मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्