Skip to content
Shikhar Insurance
National Life

प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित

Hyundai
NCELL
NIMB

सिमकोट । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् । प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासंघ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका थिए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूकोे आरोप थियो । हवाई उडान नहुँदा यहाँका नागरिक प्रत्यक्षरुपमा मारमा परेको हुम्ला होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष भीम लामाले बताए।

प्राधिकरणको नियमका कारण हवाईजहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्युसमेत भएको उनको आरोप थियो । प्राधिकरणले १२ः३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए।

हिजो पहिलो दिन धर्ना दिने कार्यक्रम भए पनि प्राधिकरणले निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्नेदेखि कडा आन्दोलनमा उत्रिने उनले बताए। ठाउँ र भूगोल सुहाउँदो निर्णय गर्नुपर्नेमा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले जोड दिए।

हिमाली जिल्लावासीका लागि यो नियम पहिलो भए पनि अहिले लागू भएको नियमले हुम्लीवासी मारमा परेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतले बताए। नेपाल एयरलाइन्सले उडान नभरिरहेको हुम्लामा निजी एयरलाइन्सको उडानमासमेत प्रतिबन्द लगाउँदा चार बालबालिकाको मृत्यु भएको र खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत निर्माण व्यवसायीले सामानको अभाव खेप्नुपरेको सिमकोट गाउँपालिका पूर्वअध्यक्ष पदमबहादुर लामाले बताए।

बिहानको समय हुम्लामा पानी पर्नाका साथै बाक्लो बादल लाग्ने र ११र १२ बजेपछि मौसममा सुधार हुँदै जाने भए पनि प्राधिकरणको नयाँ नियमका कारण हवाई उडानमा रोक लागेको छ । यो नियम लागू हुनुभन्दा पहिला नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सले साँझ ५ बजेसम्म आफ्नो नियमित उडान गर्दै आएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्