काठमाडौं । ‘के हामी मारवाडी नेपाली होइनौं ? हाम्रो राष्ट्रियता माथि आशंका गर्ने ? हामीले देशका लागि योगदान दिएका छैनौं ? उद्योग व्यवसाय चलाउनु, रोजगारी दिनु, कर तिर्नु अपराध हो ?’, यो भनाई हो नेपाल राष्ट्रिय माडवारी परिषदका अध्यक्ष पवन मित्तलको ।
बुधबार नेकपा(एमाले)ले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ बिषयक कार्यक्रममा सैयौं उद्यमी व्यवसायी र नेताहरुका अगाडी उनले यस्तो प्रश्न गरेका हुन् । कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा लगायतका एमाले नेताहरु मञ्चमा थिए भने दर्शक दिर्घमा मारवाडी, नेवार सबै समुदायका व्यवसायी उपस्थित थिए ।
एक दुई जना व्यवसायीका कारण सिंगो समुदाय नै असुरक्षित हुने गरि लाञ्छाना लगाउनु आपक्तिजनक भएको टिप्पणी पनि गरे । ‘एक दुई जना व्यक्तिहरुका कारण सिंगो मारवाडी समुदायलाई नै यसरी गाली गर्नु गलत हो, हाम्रो योगदानको अपमान भयो । कोहि विदेश गयो भने पनि मारवाडी भाग्यो भन्न थालिएको छ, यसरी देश बन्छ ?’, मित्तलले प्रति प्रश्न गरे ।
कार्यक्रममा पूर्व अर्थमन्त्री तथा एमाले नेता डा. युवराज खतिवडाले पनि निश्चित समुदायलाई गाली गरेर समृद्धि नआउने बताए । ‘निश्चित समुदायलाई लक्षित गरेर गाली गर्नु गलत हो, त्यसरी समृद्धि आउँदैन, अर्थतन्त्रमा ठूलो योगदान दिएका समुदायलाई लेखेटेर देश बन्दैन’, डा. खतिवडाले भने ।
उनले अर्थतन्त्रमा ठूलो योगदान दिएकाहरुलाई लेखेट्ने, अराजकता फैलाउनेहरुलाई सरकारले निरुत्साहित गर्नुपर्नेमा जोड दिए । ‘अर्थतन्त्रमा ठूलो योगदान दिएका समुदाय विरुद्ध अराजकता मच्छाउनेहरुलाई छुट दिनु हुन्न, त्यसलाई सरकारले निरुत्साहित गर्नुपर्छ, बैंक विरुद्ध, लघुवित्त विरुद्धका आन्दोलनहरुलाई सरकारले निरुत्साहित गर्नुपर्छ, त्यस्तालाई कानुनी कठघरामा ल्याउनुपर्छ’, डा. खतिवडाले भने ।
प्रतिक्रिया दिनुहोस्