काठमाडौं । नेपाल बिमा प्राधिकरणले पुँजी वृद्धिमा अटेर गर्ने बिमा कम्पनीहरुलाई कारबाही सुरु गर्ने भएको छ । प्राधिकरणले २०८० असार मसान्तभित्र जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम हुनुपर्ने व्यवस्था गरेको थियो ।
त्यसका लागि उनीहरुलाई पुँजी वृद्धिको योजना पेस गर्न भनिएको थियो । आफैंले बुझाएको पुँजी वृद्धि योजनाअनुसार चुक्ता पुँजी कायम नगरेको र पुँजी बढाउनका लागि ठोस पहलसमेत नगरेका कम्पनीहरुमाथि प्राधिकरणले कारबाहीको डण्डा चलाउन लागेको हो ।
प्राधिकरणले पहिलो चरणमा दुइटा निर्जीवन बिमा कम्पनीहरुलाई कारबाही गर्ने तयारी गरेको स्रोतले बतायो । त्यस्तो सम्भावित कारबाहीको सूचनासम्बन्धित कम्पनीमो उच्च व्यवस्थापनले समेत पाईसकेको छ । प्राधिकरणले पहिलो चरणमा प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सलाई कुनै बिमा पोलिसी बेच्न रोक लगाउँदैछ ।
‘मोटर इन्स्योरेन्स वा इञ्जिनियरिङतर्फको पोलिसी बेच्न रोक लगाउने तयारी हुँदैछ भन्ने अनौपचारिक सूचना प्राप्त भएको छ, उच्च व्यवस्थापनले केही सोचेको होला’, एक कम्पनी स्रोतले सिंहदरबारलाई भन्यो । पुँजी वृद्धि योजनाअन्तर्गत प्रभु इन्स्योरेन्सले अजोड इन्स्योरेन्ससँग मर्जरका लागि प्रयास गरेको थियो तर मर्जर प्रक्रिया बीचमै रोकिएको थियो । त्यसपछि अजोडले युनाइटेडसँग मर्जर गर्यो ।
उता, नेपाल इन्स्योरेन्सले आईजीआईसँग मर्जरका लागि लामो छलफल गरेर पनि टुंगोमा पुग्न असफल भएको थियो । आर्यजीआईले प्रुडेन्सियलसँग मर्जर गरिसकेको छ । क्रस होल्डिङ समेत रहेको आइएमई ग्रुपले नेपाल इन्स्योरेन्सको सेयर बेचिसकेको छ ।
अहिले प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड ६१ लाख ३२ हजार २ सय रुपैयाँ छ भने नेपाल इन्स्योरेन्सके चुक्ता पुँजी एक अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८ सय ६ रुपैयाँ १२ पैसा चुक्ता पुँजी रहेको छ । प्रभु इन्स्योरेन्सलाई तोकिएको चुक्ता पुँजी पुर्याउने एक अर्ब १२ करोड ३८ लाख ६७ हजार ८ सय रुपैयाँ थप पुँजी चाहिन्छ । नेपाल इन्स्योरेन्सका लागि एक अर्ब १२ करोड एक लाख ४ हजार १९३ रुपैयाँ ७८ पैसा थप पुँजी चाहिन्छ ।
नेपाल इन्स्योरेन्सले आफ्नो जमिन बेचेर पुँजी पुर्याउने भनेको छ भने प्रभु इन्स्योरेन्सले विदेशी साँझेदार ल्याउने दावी गरिरहेको छ। प्रभु इन्स्योरेन्सले नेपाल स्टक एक्सचेञ्जलाई छलेर हकप्रद सेयर सम्बन्धी प्रस्ताव बीमा प्राधिकरण लगेपछि केहि दिन अघि कारबाही व्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्