Skip to content
Shikhar Insurance
National Life

बजेट अभावले पूरा हुनसकेन रङ्शाला निर्माण

Hyundai
NCELL
NIMB

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका –१० अरुणखोलामा रहेको रङ्गशाला बजेट अभाव हुँदा निर्माण पूरा हुनसकेको छैन । अरुणखोलामा रहेको सहिद रमा स्मृति रङ्गशालाका लागि आवश्यक बजेट अभाव हुँदा निर्माण पूरा हुन नसकेको हो ।

विसं २०६३ देखि उक्त रङ्गशाला निर्माण थालनी गरिएको थियो । तर यतिका वर्ष वित्दासमेत यसले पूर्णता भने पाउन सकेको छैन । विभिन्न समयमा मध्यविन्दु नगरपालिका एन्फा, अरुणखोला सामुदायिक वन, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश सरकार, सङ्घ सरकारको युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा केही संरचना तयार पारिएको छ ।

रङ्गशालामा हालसम्म चारैतिर पर्खाल बनाउने, केही भागमा प्याराफिट निर्माण, चेन्जिङ रुम, गेट, कार्यालय कोठालगायतका संरचना निर्माण गरिएको सहिद रमा स्मृति रङ्गशालाका अध्यक्ष मेघराज पाण्डेले बताए। गत आर्थिक वर्ष मात्रै खेलकुद मन्त्रालयबाट ३५ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट २० लाख र मध्यविन्दु नगरपालिकाबाट प्राप्त १५ लाख गरी कूल ७० लाख बराबरको काम गरिएको अध्यक्ष पाण्डेले बताए।

उक्त रकमबाट रङ्शालामा प्याराफिटको जग, पिल्लर निर्माण तथा पश्चिम भागमा प्याराफिट निर्माण सम्पन्न भएको मध्यविन्दु नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव हिमाल सिंह ठकुरीले बताए। मध्यविन्दु खेलकुद विकास समितिको अध्यक्षसमेत रहेका पाण्डेका अनुसार हालसम्म उक्त रङ्गशालामा दुई करोड बराबरको काम सम्पन्न गरिएको छ ।

अझै पनि रङ्गशालाको व्यवस्थापनका लागि अनुमानित १० करोड आवश्यक रहेको उनको भनाइ छ । थोरै बजेट विनियोजन हुँदा रङ्गशाला निर्माण सुस्तगतिमा भएको अध्यक्ष पाण्डेले बताए। “हामी रङ्गशाला निर्माणका लागि काम गरिरहेका छौँ, तर बजेट सधैँ न्यून मात्रमा आउन, सोच अनुसार काम गर्न सकिरहेका छैनौँ”, अध्यक्ष पाण्डेले भने।

रङ्गशाला निर्माण गर्न सके विभिन्न जिल्लास्तरका खेल सञ्चालनका लागि सहज हुने उनको भनाइ छ । रङ्गशाला निर्माणले खेल प्रशिक्षणका लागिसमेत सहयोग पुग्ने र नयाँ खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अध्यक्ष पाण्डेको विश्वास छ । यस विषयमा सम्बन्धित सरोकारवालाले आवश्यक बजेट विनियोजनका लागि पहल गर्नुपर्ने र अधुरो रङ्गशालालाई पूर्णता दिन लाग्नुपर्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्