Skip to content
Shikhar Insurance
National Life

आरोग्य केन्द्रमार्फत निःशुल्क उपचार र औषधि वितरण

Hyundai
NCELL
NIMB

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिकको घरमै पुगेर निःशुल्क आयुर्वेदिक सेवा प्रदान गरिरहेको छ ।

भौगोलिकरूपमा विकट रहेको गाउँपालिकाको विभिन्न वडामा पुगेर केन्द्रले आयुर्वेदिक सेवा प्रदान गरिरहेको हो । यस केन्द्रबाट आर्थिक वर्ष २०७९/८० मा दुई हजार दुई सय ४० जनाले उपचार सेवा लिएको केन्द्र प्रमुख मङ्गल विष्टले जनाकारी दिए।  उनका अनुसार केन्द्रबाट योग सेवा लिने दुई सय ६१, पञ्चकर्म (थेरापी) लिने चार सय ७० र सामान्य प्याथोलोजी सेवा लिने एक सय १० जना रहेका छन् ।

केन्द्रबाट निःशुल्क औषधिसमेत वितरण हुने गरेको प्रमुख विष्टले बताए। गत आवमा सात लाख बराबरको निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए। यहाँबाट २३ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएकोे छ ।

विसं २०७७ मा स्थापना भएको यो केन्द्रमा इच्छाकामनासहित गोरखाको सहिद लखन गाउँपालिका, गण्डकी गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन् । यो केन्द्र पृथ्वी राजमार्गसँगै जोडिएकाले यात्रुले समेत सेवा लिने गरेको प्रमुख विष्टले बताए। केन्द्रमा दैनिक १० देखि १५ बिरामी आउने गरेका छन् । “सेवा केन्द्रलाई एक जना कर्मचारीको भरमा चलाउनुपरेको छ”, उनले  भने, “गाउँमै पुगेर सेवा दिनुपर्ने भएकाले जनशक्तिको अभाव छ ।” प्रमुख विष्टले पछिल्लो समय केन्द्रबाट निःशुल्क ल्याब सेवासमेत प्रदान गरिएको बताए। “मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रममार्फत केन्द्रलाई ल्याब प्राप्त भएको छ, बिरामीको घरमै पुगेर ल्याब टेष्ट गर्छौं”, उनले भने। ल्याब सुरु भएको एक महिनामै एक सय १० जनाले सेवा लिएका थिए। केन्द्रमार्फत नागरिकलाई दिनुपर्ने न्यूनतम सेवा दिएको भन्दै उनले बजेट र कर्मचारीको अभावका कारण समस्या भएको बताए।

इच्छाकामनालाई केन्द्रित गरेर सेवा दिने उद्देश्यले सेवा केन्द्र स्थापना भएको हो ।  वडाध्यक्ष नरबहादुर नेपालले सेवा केन्द्र स्थापनापश्चात् आयुर्वेद उपचारका लागि भरतपुर र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए। उनले यस वर्ष गाउँपालिकाले पनि यहाँ कर्मचारी व्यवस्थापनका लागि सहयोग गर्ने बताए। वडाध्यक्ष नेपालले आयुर्वेदिक उपचारबारे गाउँमा धेरैलाई जानकारी नरहेकाले समय समयमा स्वास्थ्य शिविर आयोजना गरेरसमेत उपचार गरिरहेको जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्