काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भुसालले तीन तहका सरकारले समन्वयत्मक ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन् ।
देशका सातवटै प्रदेशका कृषिमन्त्री, पोखरा महानगरपालिकाका मेयर, प्रदेशका कृषि सचिवबीच भएको विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री भुसालले तीन तहकै सरकारबीच समन्वयको जरुरी औंल्याए । ‘अर्थतन्त्रको बलियो आधार कृषि र पशुपालन नै हो । यसलाई प्रभावकारी ढंगले भूमिका निर्वाह गर्नका लागि हामीबीच समन्वयको जरुरी छ । आआफ्ना डम्फु बजाएर हिँडे कतै पुगिन्न् । मुलुकको विकासको लागि मिलेरै अगाडि बढौं,’ मन्त्री भुसालले भने ।
मन्त्री भुसालले अब छिट्टै कृषि ऐन ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । कृषि ऐन बनाउँदा आवश्यक छलफल भएको भन्दै अझै ऐनमाथि सुझाव, सल्लाह दिन चाहे एक हप्ता भित्र सुझाव दिन प्रदेश र स्थानीय सरकारलाई उनले आग्रह गरे ।
साथै मन्त्री भुसालले कृषिउपज निर्यातको सम्बन्धमा भारतसँग कुराकानी भइरहेको जानकारी दिए । आफ्नो पहलमा स्कुज, टमाटर लगायतका कृषिउपज निर्यात भएको उनले बताए । अझ निर्यातलाई प्रभावकारी बनाउनका लागि आगामी सेप्टेम्बरमा दुई देशका सचिव स्तरीय बैठक आयोजना हुने जनाए । त्यस बैठकले दुई देशबीच कृषि र पशुपालनबारे आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे ।
मन्त्री भुसालले सम्भावित विपतबारे पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । आजभन्दा तीन वर्ष पहिले आएको लम्पी स्किन रोग देशभर फैलनुको कारण पूर्वतयारीकै कमी भएको उनले जनाए । ‘हामी रोग, उपचार र नियन्त्रणमा मात्र होइन् सम्भावित विपत आकलन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । तीन वर्ष पहिले देखिएको लम्पी स्किनलाई समयमा नियन्त्रण गर्न नसक्दा आज यो स्थिति आएको हो, मन्त्री भुसालले भने, ‘हामी यस्ता जोखिमबारे पहिल्यै नै सचेत बन्नुपर्छ ।’
लम्पी स्किनबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउनेबारे आवश्यक तयारी भइरहेको समेत मन्त्री भुसालले जनाए । ‘राहतलाई के आधारमा, कुन मापदण्ड र कुन प्रक्रियाबाट वितरण गर्ने भन्नेबारे पशु सेवा विभागले काम गरिरहेको छ, मन्त्री भुसालले भने, ‘विभागले कार्यविधि निर्माण गरेपछि छिट्टै नै राहत वितरण गर्छौं ।’
उक्त बैठकमा संघ, प्रदेश र स्थानीय तह कृषि तथा पशुपन्छी क्षेत्र समन्वय निर्देशिकाबारे आवश्यक छलफल गरी यसलाई पारित गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्