चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा तत्काल प्रतिकार्य समूह (आरएटी) परिचालन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त समूह नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेका यात्रु र सवारी साधनको व्यवस्थापनमा खटिएको हो ।
समूहका प्रदेश संयोजक विजय गुप्ताको नेतृत्वमा ५० स्वयंसेवक परिचालन गरिएको रास्वपाका सभापति रवि लामिछानेका निजी सचिब प्रकाश सिग्देलले जानकारी दिए। विपद्का समयमा परिचालन हुने गरी समूह बनाएर परिचालन गरिएको उनले बताए। केन्द्रमा विष्णुकुमार श्रेष्ठको नेतृत्वमा उक्त समूह गठन गरिएको थियो ।
उक्त समूहले कार्यक्षेत्रमा रहेका प्रहरीसँगको समन्वयमा उद्धार, व्यवस्थापन र राहतका कामहरु गर्ने छ । मङ्गलबारदेखि विपत् परेका स्थानमा परिचालन हुने गरी खटाइएको उक्त समूहले पहिरोका कारण अलपत्र परेका यात्रुहरुलाई सहजीकरण गर्दै यात्रालाई सहज बनाउन पहल गर्ने जनाइएको छ ।
सभापति लामिछाने निर्वाचित भएको सय दिनअन्तर्गत घोषणा गरिएको कार्यक्रमअन्तर्गत यो समूह परिचालन भएको हो । अब नियमित समूह परिचालन हुने निजी सचिव सिग्देलले जानकारी दिए। सो समूहले नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत कालीखोलामा पहिरोमा परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्