काठमाडौं । काठमाडौं टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरुलाई विश्वव्यापी अवसर प्रदान गर्नेसम्बन्धी महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौं टेक्निकल स्कुलको सुकेधारास्थित कार्यालयमा भएको विशेष कार्यक्रममा काठमाडौं टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यस समझदारीपछि काठमाडौं टेक्निकल स्कुलले क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा व्यावहारिक परिवर्तन ल्याउने छ ।
उक्त अवसरमा बोल्दै काठमाडौं टेक्निकल स्कुलका अध्यक्ष पौडेलले यस साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिष्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाडौं टेक्निकल स्कुलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाली विद्यार्थीहरुलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरुको सहकार्य भएको स्पष्ट पारे।
हस्ताक्षर समारोहमा आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, काठमाडौं टेक्निकल स्कुलका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्