काठमाडौं । चारवटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चारैवटै बैंकले आफ्नो नाफा बढाउन सफल भएको देखिन्छ । सबैभन्दा पहिले अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको सिटिजन्स बैंकको नाफा २२१ करोड रुपैयाँ कायम भयो, जुन अघिल्लो आवको असार मसान्तमा जम्मा २०० करोड रुपैयाँ मात्रै थियो । अर्थात यो अवधीमा बैंकको नाफा १०.५ प्रतिशतले बढाउन सफल भयो ।
माछापुच्छ्रे बैंकले बैंकले २०८० असार मसान्तसम्ममा १८५ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भयो, जुन २०७९ असार मसान्तमा १६८ करोड थियो । यो बैंकले पनि आफ्नो नाफा १०.११ प्रतिशतले बढाउन सफल रह्यो । सानिमा बैंकले २०८० असार मसान्तसम्ममा २६१ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ, जुन २०७९ असार मसान्तसम्ममा जम्मा २०९ करोड रुपैयाँ मात्रै थियो।
यो बैंकको नाफा २४.८८ प्रतिशतले वृद्धि भएको देखिन्छ । सिद्धार्थ बैंकले पनि गत आवको असार मसान्तसम्ममा ३१९ करोड रुपैयाँ नाफा कमाएको छ । जुन २०७९ असारमा २९० करोड रुपैयाँ मात्रै थियो । अर्थात बैंकले आफ्नो नाफा १० प्रतिशतले वृद्धि गरेको देखिन्छ ।
चारवटा वाणिज्य बैंकले गत आवमा जम्मा ९ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । जुन २०७९ असार मसान्तमा जम्मा ८ अर्ब ६७ करोड रुपैयाँ थियो । यी चार बैंकहरुको नाफा एक अर्ब १९ करोड रुपैयाँ अर्थात १३.७२ प्रतिशतले वृद्धि भएको छ ।
वितरण योग्य नाफा पनि बढ्यो
सानिमाले गत आर्थिक बर्षमा २२० करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ, जसले १७.७३ प्रतिशत लाभांश क्षमता राख्दछ । माछापुच्छ्रे बैंकले १५६ करोड वितरण योग्य नाफा आर्जन गर्दा १५.२१ प्रतिशत लाभांश क्षमता राख्छ ।
सिद्धार्थ बैंकले ७९ करोड रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेर ५.५६ प्रतिशत लाभांश क्षमता कायम गरेको छ । सिटिजन्स बैंकले भने १०३ करोड रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गर्दा ७.२५ प्रतिशतको लाभांश क्षमता राखेको छ ।
प्रतिसेयर आम्दानी
सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २२.६४ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको सोही अवधीमा जम्मा २०.६० रुपैयाँ मात्रै थियो। सानिमाको । बैंकको प्रति सेयर आम्दानी २१.०२ रुपैयाँ रहेको छ । माछापुच्छ्रे बैंकको प्रति सेयर आम्दानी पनि बढेर १८.०५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो असार मसान्तमा जम्मा १६.४४ रुपैयाँ मात्रै थियो । सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी बढेर १५.५९ रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको समाप्तिमा १४.१२ रुपैयाँ मात्रै थियो ।
प्रतिक्रिया दिनुहोस्