काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र दराज क्यामु प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई दराजमा सामान किन्दा विशेष छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५ सय रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
यसका साथै सिटिजन्स बैंकबाट यही अगस्ट १ तारिखपश्चात नयाँ कार्ड प्राप्त गर्ने ग्राहकहरूले दराजमा प्रथमपटक कारोबार गर्दा समेत थप १ सय ५० रुपैयाँसम्मको भौचर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
दराज क्यामुको रोटरी कम्पलेक्स, थापाथली स्थित कार्यालयमा आयोजित उक्त कार्यक्रममा बोल्दै बैंकका मास बैंकिङ अधिकृत रोशन मानन्धरले यस किसिमको सहकार्यबाट सिटिजन्स बैंकका कार्डवाहकहरूलाई फाइदा पुग्नुका साथै कार्डको प्रयोग बढ्ने र डिजिटल सभ्यताको विकास हुने धारणा व्यक्त गरे ।
सो अवसरमा दराजका प्रमुख सञ्चालन अधिकृत विमल अर्यालले दराज समग्र ईकमर्स क्षेत्रको विकासको लागि प्रतिबद्ध रहेको जनाउँदै आगामी दिनहरूमा समेत बैंकसँग सहकार्य गर्दै अगाडी बढ्ने र डिजिटल कारोबारलाई थप प्रवद्र्धन गर्दै जाने धारणा राखे ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १ सय ८८ वटा शाखा, १ सय ४७ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्