Shikhar Insurance
National Life

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० श्रावण १५, सोमबार १०:४७
Hyundai
NCELL
NIMB

दमाैली । तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन्।
बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा ब्रोइलर कुुखुरा, पाडा, बाख्रापालन गरिएको छ ।

शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न थापाजस्तै १७ विद्यार्थी फार्ममा पुग्ने गरेका छन् । विद्यार्थी पशुलाई दाना पानीको व्यवस्थापनमा आफैं खटिन्छन् । पछिल्लो समय विद्यार्थीको दैनिकी प्रयोगात्मक सिकाइ र अभ्यासमा बित्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाठ्यक्रममा आधारित पशुपालन र उपचार पद्धतिबारे अध्ययनरत विद्यार्थीले नजिकका टोलमा गई किसानले पालेका पशुचौपायाको औषधि उपचार पनि गर्छन् । उपचार पद्धति र प्रक्रियाबारे निपूर्ण हुनका लागि किसानका पशु चौपायाको उपचार गर्दा आत्मविश्वास बढ्ने विद्यार्थी थापाले बताए।

प्राविधिक धारअन्तर्गत पर्ने १८ महिने (भेटेरिनरी जेटिए) पढ्ने विद्यार्थीले पढ्दै कमाउँदै कार्यत्रममार्फत आयआर्जन गर्न थालेका छन् । फार्ममा पालिएका कुखुरापालनमा विद्यालयले लगानी गरे तापनि मुनाफा भने विद्यार्थीले पाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले जानकारी दिए । उनले भने, “पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनेको छ । समूहमा विभाजित विद्यार्थीले अहिले अध्ययन मात्र नभई एक सिजनमा मात्र प्रति विद्यार्थी पाँच हजार रूपैयाँदेखि ७ हजार रूपैयाँसम्म कमाउने गरेका छन् ।” पढ्दै कमाउँदै कार्यक्रमबाट भएको आम्दानीले विद्यार्थीलाई अध्ययनमा टेवा मिलेको उनको भनाइ छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरेका छन् । प्रयोगात्मक शिक्षा अन्तर्गत विद्यालयका विद्यार्थीले स्थानीय जातको कुखुरापालन सुरु गरेका हुन् ।

विद्यालयको एउटा कोठामा दुई सय स्थानीय प्रजातिका कुखुराको चल्ला पाल्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए। गाउँपालिकाको एक वडा एक उत्पादन र पढ्दै कमाउँदै कार्यक्रममार्फत कुखुरापालन सुरु गरिएको हो ।

विद्यार्थी नै कुखुराका लागि दाना पानीको व्यवस्थापनमा खटिन्छन् । उनले भने, “यो कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर हुन पनि सिकाउँछ ।” आँबुखैरेनी–४ आमडाँडाबेंसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पनि पढ्दै कमाउँदै कार्यक्रममार्फत अदुवाखेती गरिएको छ । विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत दुई रोपनी जग्गामा एक सय ७५ किलो अदुवा र एक सय ६५ किलो हलेदो रोपिएको छ ।

विद्यार्थी आफैंले बारी खनेर अदुवा र हलेदो रोपेको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए। यो कार्यक्रमले विद्यार्थीलाई सीपयुक्त बनाउन सहयोग पुग्ने ढकालको भनाइ छ । “पढाइका अतिरिक्त विद्यार्थीलाई अतिरिक्त ज्ञान पनि आवश्यक पर्दछ, त्यसमाथि सीपमूलक ज्ञान त झन प्रभावकारी हुन्छ”,  ढकालले भने, “विद्यार्थी पनि यो कार्यक्रममा उत्साहित छन् ।”

विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित पढ्दै कमाउँदै कार्यक्रम लागू गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ”, चुमानले भने, “सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौं ।”

गाउँपालिकाले विद्यालयको जग्गाको उपलब्धता, विद्यालयको माग र आवश्यकताका आधारमा अन्य पालिकामा पनि यो कार्यक्रम विस्तार गर्ने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्