काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तेश्रो पटक युरोमनी अवार्ड जितेको छ । बैंकले तेश्रो पटक युरोमनी अवार्ड फर एक्सलेन्स प्राप्त गरेको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी– अवार्ड फर एक्सलेन्स प्राप्त गरेको हो ।
युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो प्रतिष्ठित अवार्ड तेस्रो पटक प्राप्त गर्न सफल भएको हो । यसअघि दुई पटक सन्२०१८ र २०२१ मा पनि बैंकले यहि अवार्ड हासिल गरेको थियो ।
वर्षभरिको कार्यसम्पादन ,रणनीतिक वृद्धि तथा आफ्ना ग्राहकहरूलाई उपयुक्त सेवाहरू र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएका कारण बैंकलाई युरोमनीले वित्तीय समावेशीकरणको श्रेय दिइएको हो । युरोमनीले आफ्नो आधिकारिक वेबसाइटमा भूतपूर्व सेनाका कर्मचारी, बहालवाला सेवाकर्मी र उनीहरूका परिवारलाई विपन्न क्षेत्र ऋण कार्यक्रम मार्फत सहुलियत दरमा ऋण उपलब्ध गराउनु नै यसपाली बैंकलाई सम्मानित गर्नुको अर्को कारण भएको उल्लेख गरेको छ ।
बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड रहेको छ । बैंकको शेयरधनी कोष ५ अर्ब ९५ करोड छ जुन नेपालका वाणिज्य बैंकहरू मध्येकै सबैभन्दा उच्च हो । बैंकले २९६ वटा शाखा, २८० एटिएम, ६२ वटा एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ काउन्टरहरूबाट सेवा दिईरहेको छ । बैंकमा ३० लाख भन्दा बढी ग्राहक छन् ।
बैंकले उत्कृष्ट सेवा प्रदान गरे वापत सात वटा बैंक अफ द इअर अवार्ड प्राप्त गरिसकेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्ईएसओ ९००ः२०१५ प्रमाणपत्र प्राप्त गरिसकेको छ । त्यस्तै बैंकलाई रेटिङ एजेन्सी इक्रा नेपालले ए क्रेडिट रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्