काठमाडौं । अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे काठमाडौंको ¥याडिसन होटल, लाजिम्पाटमा सम्पन्न भएको छ । सम्माननीय उप–राष्ट्रपति रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्यता तथा माननीय परराष्ट्र मन्त्री एनपी साउदको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको साधारण सभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाललाई नयाँ डिनका रुपमा नियुक्त गरेको छ ।
कार्यक्रममा एचसीसीएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरुले आफ्नो जिम्मेबारी निर्वाह गरिरहन भएको बताए । उनले नेपाल भ्रमणमा रहेका एचसीसीएन सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको पनि बताए ।
कार्यक्रममा उपराष्ट्रपतिले एचसीसीएनका पुर्व डिनहरु गजेन्द्र बहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनय मान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्त राज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्र कुमार खेतान (पोर्चुगल), आङ छिरिङ शेर्पा (बेल्जियम), प्रदिप कुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड) लाई सम्मान गरेका थिए ।
१६ औं साधारणसभाले नयाँ डिनका रुपमा अनररी कन्सुल जनरल विष्णु कुमार अग्रवाललाई चयन गरेको छ । सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नती गरिएको थियो । भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक छन् । उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा एचसीसीएनका नवनियुक्त डिन विष्णु कुमार अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरुले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मबारीलाई निर्वाह गरेको बताए । २०७२ को विनाशकारी भूकम्प र कोभिडको महामारीका बेलामा पनि एचसीसीएन सदस्यहरुले आफूले प्रतिनिधित्व गर्ने मुलुकका नागरिकको उद्धार गर्न र सुरक्षित रुपमा आफ्नो मुलुकमा फर्कन मद्दत गरेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्