काठमाडौं । सीजीएग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका रास्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजीएग्रोटेकले जनाएको छ ।
हालै सम्पन्न एक समारोहबीच चौधरी गु्रपका प्रबन्धनिर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।
यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजीएग्रोटेकका प्रवन्धनिर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल–यूएईबीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने बताए ।
“डीएमसीसीसँग रहेको २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ ब्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्नेछ,” चौधरीले भने ।
डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीकाअनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको मागअझ बढ्ने उनले जनाएका छन् । “यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यीव्यापारिक अवसरहरूको मूल्याङ्कन गर्न मद्दत पुग्नेछ,” उनले बताए ।
प्रतिक्रिया दिनुहोस्