Shikhar Insurance
National Life

माथिल्लो मैलुङ खोलाको आईपीओ निष्काशन, कति कित्तासम्म आवेदन दिने ?

सिंहदरबार संवाददाता
२०८० श्रावण ४, बिहीबार १२:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज (साउन ४ गते)देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थिानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता सेयर बाँडफाँट गरिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो ।

कम्पनीको उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा साउन १८ गते हुनेछ भने ढिलोमा भदौ १ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन १८ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्