काठमाडौं। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जीविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाको आयोजना, राष्ट्रिय फोटो पत्रकार समूहको सहकार्यमा मंगलबारदेखि काठमाडाैंमा पत्रकारका लागि तीन दिने फोटो पत्रकारिता तालिम सुरु भएको छ ।
विभिन्न सञ्चारमाध्यमममा कार्यरत ५५ जना पत्रकारको सहभागिता रहेको तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताका बारेमा समेत प्रशिक्षण दिइने छ । यस्तै तालिममा पर्यटन फोटो पत्रकारिताका क्षेत्र, पर्यटन पत्रकारिता यसका नयाँ आयाम तथा प्रयोगबारे प्रशिक्षण हुने परियोजनाले जानकारी दिएको छ ।
तालिम उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले परियोजनाले पर्यटन क्षेत्रमा विभिन्न तालिम सञ्चालन गरिरहेको सन्दर्भमा फोटो पत्रकारका लागि यो तालिम आयोजना गरिएको र यसले पर्यटन बिटमा कलम तथा क्यामेरा चलाउने पत्रकारहरु लाभान्वित हुने अपेक्षा गरिएको बताए ।
‘पर्यटनका लागि फोटो आफैंमा महत्वपूर्ण विषय हो । त्यसमाथि समाचारसँगै आउने फोटोले पर्यटन प्रवर्द्धनमा ठूलो सघाउ पुग्छ । यो तालिमका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धन हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं, ‘उनले भने। नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको महत्वपूर्ण साधन भएको र तालिमले फोटो पत्रकारहरुमा थप निखार ल्याउने अपेक्षा गरेको बताए ।
जीविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाका जीविकोपार्जन विज्ञ धर्म दवाडीले परियोजनाले अन्य क्षेत्रको तालिमसँगै फोटो पत्रकारिताको क्षेत्रमा पनि पत्रकारहरुको क्षमता अभिवृद्धि होस् भन्ने उद्देश्यले यस प्रकारको तालिम आयोजना गरिएको बताए ।
तालिमको पहिलो दिन नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा पत्रकारिताका उपप्राध्यापक टीपी भुसालले नेपालको कला, संस्कृति, नेपालको समग्र पर्यटनका साथै पर्यटन पत्रकारिताका क्षेत्र, पत्रकार आचारसंहीतालगायतका विषयका बारेमा प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्