काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आज (असार २९ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। यस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा पुग्नेछ।
प्रतिक्रिया दिनुहोस्