काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र डिआइएजी इन्ड्रस्टिज जर्मनी बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र डिआइएजी इन्ड्रस्टिज जर्मनीका म्यानेजिङ डाइरेक्टर बेन्जामिन बेक्रेले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डिआइएजी इन्ड्रस्टिज जर्मनीको प्रस्तावका आधारमा लगानी बोर्डको ७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औँ बैठकबाट स्वीकृत भएको थियो । समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डिआइएजी इन्ड्रस्टिज जर्मनीले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र डिटेल फिजिबिलिटि स्टडी लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ।
प्रस्तावक डिआइएजी इन्ड्रस्टिज जर्मनीले नेचुरल ग्याँस, इलेक्ट्रोलाइसिस अथवा हाइब्रिड प्रविधि मध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७ सय १४ मिलियन ( करिव ९३ नेपाली) लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ।
साथै आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक-निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ।
उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्