Shikhar Insurance
National Life

१२ वर्षपछि विरिङ खोलामा पक्की पुल निर्माण

सिंहदरबार संवाददाता
२०८० असार २८, बिहीबार १५:०६
Hyundai
NCELL
NIMB

झापा । हुलाकी सडकअन्तर्गतको विरिङ खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल ठेक्का लागेको १२ वर्षपछि निर्माण सम्पन्न भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले पुल निर्माण भएसँगै सञ्चालनमा आएको बताए।

उनले खोलामा पानीको बहाव बढेर ‘डाइभर्सन’ बगाएपछि साना सवारी साधन चलाउने गरी पुल सञ्चालनमा आएको जानकारी दिए। पुल सञ्चालनसँगै जिल्लाका दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित बनेका छन् । वर्षाैंदेखि वर्षातका समयमा बाँसको टाँटीको पुल बनाएर खोला तर्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त भएको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इञ्जिनियर खतिवडाका अनुसार सो पुल तीन सय २४ मिटर लामो र सात मिटर चौडाइको छ । विसं २०६८ असार ३१ गते ठेक्का लागेको सो पुल २०७१ चैत १२ गतेदेखि सञ्चालनमा आउनुपर्ने थियो । ठेक्काको जिम्मेवारी लामा मैनाचुली जेभीले लिएको थियो । ठेकेदारको ढिलासुस्तीकै कारण छ पटक म्याद थप गर्दा बल्ल पुल निर्माण सम्पन्न भएको उनको भनाइ छ ।

उनले सो पुल मूल्य अभिवृद्धि करसहित १५ करोड ५० लाख ५८ हजार रूपैयाँमा ठेकेदार कम्पनीले ठेक्कामा लिएको बताए। हुलाकी सडकमा पर्ने आठ पुलमध्ये कनकाई र रतुवा खोलाको मात्र निर्माण सकिन बाँकी रहेको उनले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा रहेको राष्ट्रिय गौरवको आयोजनाको यस राजमार्गको झापा खण्डको ४८ किलोमिटर सडक निर्माण भइसकेको छ । कनकाई, विरिङलगायतका खोलामा समयमै पुल निर्माण भई नसक्दा सडक सञ्चालनमा आउन अझै सकेको छैन ।

पूर्वमेचीदेखि पश्चिम महाकालीको गड्डाचौकीसम्म एक हजार छ सय मिटरको हुलाकी मार्ग निर्माणपछि तराई–मधेसका सर्वसधारणको जीवनस्तर उकास्न मद्दत पुग्ने देखिएको छ । सो सडक निर्माणलाई विभिन्न खण्डमा विभाजन गरेर काम गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्