गलेश्वर । असार अन्तिम सातासम्म पनि पानीको मूल फुट्न नसक्दा म्याग्दीमा अझै रोपाइँ हुन सकेको छैन । पर्याप्त वर्षा नहुँदा जिल्लामा ४८ प्रतिशत खेतमा पनि रोपाइँ हुन नसकेको हो । विगतका वर्षमा असार अन्तिम सातासम्म प्रायः सबै ठाउँमा रोपाइँ भइसक्ने यहाँका फाँट यस वर्ष भने बाँझै देखिएका छन् ।
मूल फुटेर, खहरे तथा अन्य खोलामा पानी आउने समयमा यस वर्ष पानीकै अभाव भएपछि रोपाइँ हुन नसकेको किसानले बताएका छन् । “पानी पर्ला र रोपाइँ सुरु गरौँला भन्ने सुरुमा छौँ”, बेनी नगरपालिका–२ का किसान टीका कार्कीले भने।
खेत र बारीका कान्लाका पानीका मूल फुटेका छैनन् । भेलबाढी बग्न पर्ने खोलामा खडेरीले गर्दा आजसम्म कमिला हिँड्ने गरेका किसान बताउँछन् । केही वर्षअघिसम्म लेकाली क्षेत्रमा असारको अन्तिमसम्ममा र साउनको पहिलो सातासम्ममा बेँसीमा रोपाइँ पूरा हुने गरेको थियो । पछिल्ला वर्षमा वर्षा अनियमित हुँदा कहिले धेरै छिटो त कहिले धेरै ढिलो रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए।
आकाशको पानी नपरेपछि खेतका कुना र कान्लाका मूल पनि फुटेको छैन । सिँचाइका लागि कुलो वा नहरको व्यवस्थापन भएका, खोल्साको आसपासमा भएका बाँझा जमिनमा रोपाइँ सकिएको भए पनि मकैखेती भएको मुख्य उत्पादनयोग्य भूमिमा रोपाइँ भएको छैन । मकै पाकेपछि थन्क्याएर रोपाइँका लागि खेतका गरा तयारी अवस्थामा राखिए पनि पानीकै अभावमा रोप्न नसकेको कृषक बताउँछन् । वर्षा नहुँदा मकै लगाएको खेत खाली भएको धेरै दिन भएको भए पनि रोपाइँ गर्न नसकिएको मङ्गला गाउँपालिका–४ का कृषक पूर्णबहादुर रोकाले बताए ।
जिल्लाका विभिन्न ठाउँका कृषकले धारा वा मूलको पानी आलोपालो गरेर रोपाइँ गरिएको खेतमा पनि सिँचाइको अभावमा गरा चर्किएको बताएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले अहिलेसम्म करिब ५२ प्रतिशत खेतमा रोपाइँ भएको जानकारी दिए । अघिल्लो वर्ष यही समयमा अहिलेको भन्दा धेरै रोपाइँ भए पनि यो वर्ष पर्याप्त वर्षा नहुँदा कृषक चिन्तामा परेको उनको भनाइ छ ।
जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा तीमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरको जमिनमा खेती हुँदै आइरहेको छ । जिल्लामा कूल तीन हजार आठ सय ८५ हेक्टरको जमिनमा धानखेती हुँदै आएको छ ।
गत वर्ष १३ हजार तीन सय ६० मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । खेती गरिएको जमिनमध्ये छ हजार १३ हेक्टर अर्थात् ३०.८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकामा एक हजार छ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्