काठमाडाैं । दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ ।
यसरी एकतर्फी बनाउने सडकमा महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल क्षेत्र, डिल्डीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ ।
अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ । यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुनेहुँदा सडकको मर्मतसम्भार र थप व्यवस्थित गर्नको लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।
सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको स्थानमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने जनाएको छ । नियमअनुसार आठ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक सडक विभागको अधिकारभित्र पर्नेछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक नौ सय ५० किलोमिटर छ ।
कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आगमी आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो । कामपाले आगामी आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कूल ७ अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।
सोअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन २५ करोड विनियोजन गरिएको छ । त्यस्तै महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये ‘डिपिआर’ भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौँ योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि १ अर्ब छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्