Skip to content
Shikhar Insurance
National Life

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

Hyundai
NCELL
NIMB

गोरखा। गोरखा जिल्लाभित्रका पाँच स्थानीयको आगामी आर्थिक वर्ष २०८०/८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो ।

बारपाक सुलिकोटले आगामी आव २०८०/८१ का लागि कुल ६० करोड ३९ लाख ६९ हजार रूपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

त्यस्तै सहिद लखनले ६३ करोड २० लाख १० हजार रूपैयाँ बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ । जिल्लाको अजिरकोटले आगामी आवका लागि ४९ करोड ३४ लाख ९३ हजार रूपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । भीमसेन थापाले ५५ करोड ८४ लाख ३० हजार चार सय रूपैयाँको बजेट ल्याएको छ ।

सो गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए। पाँचवटै स्थानीय तहहरुले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन् ।

जिल्लाको ११ स्थानीय तहमध्ये ६ स्थानीय तहरुको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ । गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो ।

गोरखाले आवका लागि कुल १ अर्ब ३२ लाख ६५ हजारको बजेट नगरसभामा पेस गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। त्यस्तै पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजार रूपैयाँ, आरुघाटले ५८ करोड १६ लाख १७ हजार सात सय रूपैयाँको बजेट गाउँसभामा पेस गरेको छ ।

उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ । आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। धार्चेले ४८ करोड ९१ हजार पाँच सय रूपैयाँ बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाख रूपैयाँ बजेट गाउँसभामा पेस गरेको छ । गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरुले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्