काठमाडौं । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले आगामी मौद्रिक नीतिबाट घर जग्गा व्यवसाय र सेयर बजारलाई चलायमान बनाउने योजना ल्याउने बताएका छन् ।
राजधानीमा आर्थिक छलफल चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वडेपुटी गभर्नरसमेत रहेका सिवाकोटीले घर जग्गा धितोको कर्जा सीमालाई ५० प्रतिशतसम्म बनाउन सकिने बताए ।
‘हाउजिङ्मा उपत्यकामा ३० प्रतिशत र बाहिर ४० प्रतिशत ऋण दिने व्यवस्था छ । त्यसलाई ४०-५० प्रतिशत कर्जा दिन सकिन्छ । त्यसले अर्थतन्त्र चलायमान बनाउँछ’, सिवाकोटीले भने ।
उनले सेयर बजार अर्थतन्त्रको मेरुदण्ड भएकाले त्यसलाई पनि सुधारको बाटोमा लैजाने बताए । उनले भने, ‘पुँजी बजारमा अहिलेको नीति निरन्तर हुँदैन, संशाेधन हुन्छ । पुँजी बजारबाट कर पनि संकलन गर्न सक्छौं ।’
उनले विश्व बैंक र आईएमएफले भनेअनुसारको कसिलो मौद्रिक नीति नआउने दाब पनि गरे । ‘ आईएमएफ एअ विश्व बैंकले भनेको जस्तो कसिलो मौद्रिक नीति आउँदैन । राष्ट्रिय परिवेश पनि हेर्छौं । रोजगारी र उत्पदन वृद्धि गर्ने काम सरकारको हो । हामीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाहका लागि वातावरण बनाउँछौं’, सिवाकोटीले भने ।
प्रतिक्रिया दिनुहोस्