Shikhar Insurance
National Life

बजेट खर्चको स्थिति प्रदेशमा झन् खराब, जेठसम्म ४९ प्रतिशत मात्रै खर्च

सिंहदरबार संवाददाता
२०८० असार २४, आईतवार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म प्रदेशहरूको बजेट खर्च आधा मात्रै देखिएको छ । चालु आर्थिक वर्षका लागि प्रदेशहरूले ल्याएको बजेटको आकार ३ खर्ब ६ अर्बमध्ये जेठ मसान्तसम्म एक खर्ब ५१ अर्ब ३० करोड बराबर खर्च गरेको देखिन्छ । जुन कुल वार्षिक विनियोजन बजेटको ४९.४५ प्रतिशत हो ।

महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको प्रदेशहरुको बजेट खर्चसम्बन्धी तथ्याङ्कअनुसार ११ महिनामा सबैभन्दा धेरै कोशी प्रदेशले ६१.४१ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशले ३६.२५ प्रतिशत बजेट खर्च गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा बागमती प्रदेशले ५०.६२ प्रतिशत, गण्डकी प्रदेशले ४८.१९ प्रतिशत, लुम्बिनी प्रदेशले ५५.५४ प्रतिशत, कर्णाली प्रदेशले ४५.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशले ४८.५४ प्रतिशत बजेट खर्च गरेको देखिन्छ । सो अवधिमा चालुतर्फको औसत खर्च ५५.६८ प्रतिशत र पुँजीगततर्फको औसत खर्च ४६.११ प्रतिशत छ ।

कोशी प्रदेश
कोशी प्रदेशले चालु आर्थिक वर्षका लागि कुल ३९ अर्ब ९१ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा २४ अर्ब ५१ करोड बराबर खर्च भएको छ । प्रदेशले चालुतर्फ ७० प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत खर्च गरेको छ । चालु आवका चालुतर्फ १६ अर्ब ६२ करोड र पुँजीगततर्फ रू २३ अर्ब २९ करोड छुट्याइएमा जेठ मसान्तसम्ममा कोशी प्रदेशले चालुतर्फ ११ अर्ब ६५ करोड र पुँजीगततर्फ १२ अर्ब ८६ करोड खर्च भएको छ ।

मधेश प्रदेश
अन्य प्रदेशको तुलनामा मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कम छ । चालु आर्थिक वर्षका लागि कुल ४६ अर्ब ९८ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा १७ अर्ब ३ करोड खर्च भएको छ । जुन वार्षिक विनियोजनको ३६.२५ प्रतिशत बराबर हो । मधेश प्रदेशले ११ महिनामा चालु शीर्षकमा ३३ प्रतिशत र पुँजीगत शीर्षकमा ३८.३४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ २० अर्ब ८० करोड बजेट रहेकोमा ६ अर्ब ९९ करोड ६७ लाख मात्रै खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा २६ अर्ब १८ करोड बजेट रहेकोमा विनियोजनको ३८ प्रतिशत अर्थात् १० अर्ब चार करोड खर्च भएको छ ।

बागमती प्रदेश
बागमती प्रदेशले चालु आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएकोमा जेठ मसान्तसमममा ५०.६२ प्रतिशत अर्थात् ३५ अर्ब ९१ करोड बजेट खर्च गरेको छ । यस अवधिसम्ममा बागमती प्रदेशको बजेट खर्च चालु शीर्षकमा ६१.६१, पुँजीगत शीर्षकमा ४६ प्रतिशत र वित्तीय व्यवस्थापन शीर्षकमा ३० प्रतिशत बराबर छ । चालु शीर्षकमा २६ अर्ब ८४ करोड बराबर बजेट रहेकोमा१६ अर्ब ५३ करोड, पुँजीगत शीर्षकमा ४२ अर्ब करोड बजेट छुट्याइएकोमा १९ अर्ब ३७ करोड र वित्तीय व्यवस्थापन शीर्षकमा २ अर्ब बजेट छुट्याइएकोमा ६० करोड खर्च भएको छ ।

गण्डकी प्रदेश
जेठ मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च ४८ प्रतिशत बराबर छ । यो प्रदेशले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख बराबरको बजेट ल्याएकोमा गत जेठ मसान्तसम्ममा १७ अर्ब ३० करोड बराबर खर्च गरेको हो । यो प्रदेशले हालसम्म चाल शीर्षकमा ५४ र पुँजीगत शीर्षकमा ४५ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । चालु शीर्षकमा १२ अर्ब ८० करोड ९३ लाख बराबरको बजेट ल्याइएकोमा जेठ मसान्तसम्ममा ६ अर्ब ९५ करोड र पुँजीगत शीर्षकमा २२ अर्ब ५९ लाख बजेट छुट्याइएकोमा १० अर्ब ३५ करोड बराबर बजेट खर्च भएको छ । वित्तीय व्यवस्थापन शीर्षकमा ५० करोड बजेट छुट्याएको यो प्रदेशको उक्त शीर्षकको खर्च भने शून्य छ ।

लुम्बिनी प्रदेश 
लुम्बिनी प्रदेशको बजेट खर्च चालु आवको जेठ मसान्तसम्म २३ अर्ब ७३ करोड बराबर छ । जुन चालु आर्थिक वर्षका लागि यो प्रदेशले छुट्याएको कुल विनियोजनको ५५.५४ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल ४२ अर्ब ७३ करोड बराबरको बजेट ल्याएको थियो । चालु शीर्षकमा १७ अर्ब ९४ करोडको बजेट ल्याइएकोमा ६१.२० प्रतिशत अर्थात् १० अर्ब ९८ करोड र पुँजीगत शीर्षकमा २४ अर्ब ७९ करोडको बजेट ल्याइएकोमा ५१ दशमलव ४५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड बराबर खर्च भएको छ ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशले चालु आवको जेठ मसान्तसम्म ४५.६० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि कुल ३२ अर्ब ७४ करोड बराबरको बजेट ल्याएको कर्णाली प्रदेशले यो अवधिसम्ममा १४ अर्ब ९३ करोड बराबर बजेट खर्च गरेको देखिन्छ । चालु शीर्षकमा ५३.६४ प्रतिशत र पुँजीगत शीर्षकमा ४० .२५ प्रतिशत बजेट खर्च भएको देखिन्छ । कर्णाली प्रदेशले चालु शीर्षकमा चालु आवका लागि १३ अर्ब ८ करोड बराबर विनियोजन गरेकोमा ७ अर्ब एक करोड र पुँजीगत शीर्षकमा १९ अर्ब ६६ करोड विनियोजन गरेकोमा ७ अर्ब ९१ करोड बराबर खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७९ करोड बराबरको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा ४८.५४ प्रतिशत अर्थात् १७ अर्ब ८६ करोड बराबर खर्च गरेको छ ।

प्रदेशले चालु शीर्षकमा १२ अर्ब २५ करोड विनियोजन गरेकोमा ५५.३२ प्रतिशत अर्थात् ६ अर्ब ७८ करोड खर्च गरेको छ । पुँजीगत शीर्षकमा २४ अर्ब २३ करोड विनियोजन भएकोमा ४५.७१ प्रतिशत अर्थात्  ११ अर्ब ७ करोड बराबर खर्च गरेको छ । वित्तीय व्यवस्थापन शीर्षकमा ३० करोड बजेट छुट्याएको सुदूरपश्चिम प्रदेशले चालु आर्थिक वर्षको ११ महिना अवधिसम्ममा उक्त रकम खर्च गर्न सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्