सिन्धुपाल्चोक । गोठभरि गाईवस्तु, केही ‘लोकल’, केही सुर्ति प्रजातिका भैँसी । केही क्रस प्रजातिका राँगा, केही ‘लोकल’ कुखुराहरू पनि । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ नं वडाका राजकुमार ढकालको गोठ गाईभैँसी र लोकल कुखुराले भरिभराऊ छन् ।
वैदेशिक रोजगारीमा सात वर्ष बिताएर गाउँ फर्किएसँगै उनि कृषि पेसामा आकर्षित भएका हन् । विदेशमा सात वर्ष कमाएर ल्याएको पैसा र बैंकमा घरजग्गा धितो राखेर ऋण निकालेका उनकाे गोठमा २५ गाईभैँसी र ४० लोकल कुखुरा छन् । लामो समय विदेश बसेर आए पनि सोचेजस्तो आम्दानी नभएपछि उनि कृषि पेसामा आकर्षित भएको बताउँछन् ।
“आफ्नै माटोमा केही गर्छु भनेर आएको छु, लगानी धेरै छ हेरौँ सफल भइन्छ कि ?”, उनले भने । देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उही पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उनि मलेसिया हुइँकिए ।
उजाड सपना र केही गरेर खान नसक्ने आफन्त र गाउँलेको तिखो बचनले विसं २०६५ मा मलेसिया पुगेका उनी मलेसियामा पनि धेरै दुःख गुजार्नुपरेको बताउँछन् । “मलेसियामा मैले फोहरमा काम गरेको हुँ, धेरै दुःख व्यहोरेको छु”, उनले भने ।
मलेसियामा सोचेजस्तो आम्दानी नभएपछि उनि त्यहाँबाट भागेर स्वदेश फर्किए । स्वदेश फर्किएपछि पनि के गर्ने भन्ने अन्योलता उनकाे मनबाट हटेन । र, फेरि उनि कतार गए । कतारमा उनले विमानस्थलमै काम पाए । तर सोचेजस्तो तलब नपाएपछि दुई वर्षमै उनि फेरि स्वदेश नै फर्किए ।
घरपरिवार र आफन्तसँग केही समय बिताएपछि फेरि पनि उनले विदेशी भूमिमै जाने निधो गरे र दुबई गए । दुबईमा पेट्रोलपम्पमा काम पाए । तीन वर्ष कतार बस्दा पनि सोचेजस्तो कमाई नभएपछि उनि फेरि स्वदेश नै फर्किए । विदेशी भूमिमा सात वर्ष समय बिताएका उनले विदेशबाट फर्कँदा जम्मा ५ लाख लिएर फर्किएकाे बताउँछन् ।
७५ लाखको लगानी गाईभैँसीपालनका लागि उनले विदेशबाट कमाएर ल्याएको र ऋण गरेर ७५ लाखको लगानी रहेको बताउँछन् । दूध बोक्नलाई बोलेरोसमेत किनेका उनले लक्ष्मी बैंकबाट ६० लाख ऋण लिएकाे बताउँछन् । “मैले लक्ष्मी बैंकबाट मात्रै ६० लाख ऋण लिएको छु । ३५ लाखको वस्तुमात्रै छन्”, उनले भने ।
सुरुमै त्यत्रो लगानी गर्छुभन्दा घरपरिवारबाटै हतोत्साहित गर्ने काम भएको उनि सुनाउँछन् । “सुरुमै यत्रो लगानी गर्छु भन्दा त घर परिवारबाटै नगरौँ भन्ने कुरा आएको थियो”, उनले भने । अहिले भने ढकालको परिवारमा खुसी छाएको छ । उनकाे हिम्मतले आज सफलता र खुसी बनाएको छ ।
विदेशमा १६ घन्टासम्म काम गरेको बताउने राजकुमार अहिले मासिक ३ लाख आम्दानी गर्छन् । गाईवस्तुको आहारबाहेक उनकाे मासिक डेढ लाख बच्छ । “महिनामा ३ लाख कमाउँछु । त्यति नकमाए त मेरो घरजग्गा बैंकले लगिहाल्छ नि”, उनले भने।
उनि पैसा कमाउनकै लागि खाडी जानु नपर्ने बताउँनुहुन्छ । जाँगर हुने मानिस विदेश जानुभन्दा गाउँमै केही गर्न उनि सुझाउनुहुन्छ । आफ्नै उत्पादन आफ्नै व्यापार राजकुमारको काम दूधमात्रै उत्पादन गर्ने होइन, उनि दूध बेच्ने पनि गर्छन् ।
जीवनमा खुसी पाउनका लागि झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो । मलेसियाको तातो घामदेखि काठमाडौँका गल्ली–गल्लीमा सङ्घर्ष गरेका उनि गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनकाे मुहारमा खुसी छाएको हो ।
सुरुमा ५ लाख लगानी गरेर कुखुरापालनसमेत गरेका उनि हतार र हतास गर्न नहुने बताउँछन् । उनि सफलता मानिसको पछि– पछि आउने गरेको बताउँछन् । “हामी हतार र हतासी बन्न नहुने रहेछ । धैर्य गर्ने हो भने प्रतिफल आउँछ सफलता पाइन्छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस्