काठमाडौं । नेपाल उद्याेग परिसंघका अध्यक्ष राजेश अग्रवालले व्यवसायीहरुको खस्किएको मनोबल उकास्ने गरी आगामी मौद्रिक निति ल्याउनुपर्ने बताएका छन् ।
नेपाल उद्याेग वाणिज्य महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिका नेपाल राष्ट्र बैंकका गभर्नरलाई सुझाव दिन आयोजना गरिएको कार्यक्रममा अध्यक्ष अग्रवालले व्यवसायीहरुको मनोबल उकास्ने नीति आउनुपर्नेमा जोड दिएका हुन् ।
उनले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले लगानीको वातावरण बढाउनुपर्ने धारणा राखे । ‘अहिले व्यवसायीको मनोबल खस्किएको छ, लगानीको वातावरण बिग्रेको छ, मौद्रिक नितिले यो समस्याको समाधान गर्नुपर्छ ,’ अग्रवालले भने ।
उनले ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य पूरा गर्न पनि मौद्रिक नीतिले योजना अघि सार्नुपर्ने बताए । उनले कर्जा बिस्तारको नीति आउनुपर्ने र त्यो उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।
उनले एकल अंककाे ब्याजदर कायम हुनुपर्ने पनि बताए । उनले दुई खाले ब्याजदर नीतिको आवश्यकतामा पनि जोड दिए ।
अध्यक्ष अग्रवालले मूल्यवृद्धि नियमन गर्न लचिलो र अर्थतन्त्र चलायमान बनाउन खुकुलो नीति आवश्यक रहेकाले राष्ट्र बैंकले विशेष रुपले सोच्नुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्