Shikhar Insurance
National Life

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८०\८१ को बजेट बहुमतले पारित

सिंहदरबार संवाददाता
२०८० असार २१, बिहीबार १०:५०
Hyundai
NCELL
NIMB

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो ।

अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बैठकमा प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव ध्वनि मतको आधारमा बहुमतले पारित भएको सभामुख तुलाराम घर्तीले घोषणा गरेका थिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी आवका लागि प्रदेशसभामा सरकारका तर्फबाट अर्थमन्त्री मास्कीले यही असार १ गतेका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गर्दै आएको थियो । यही कारण चार पटकसम्म सदन अवरुद्ध हुन पुगेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र प्रमुख विपक्षीबीच मङ्गलबार भएको वार्तापछि प्रदेशसभाको बुधबारको बैठक सञ्चालन भएको थियो ।

सरकारले यही असार १ गते ल्याएको बजेट चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार रूपैयाँ र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार रूपैयाँ रहेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ५८ करोड ९७ लाख रूपैयाँ छ । चालुतर्फ ३३.६८ प्रतिशत, पुँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ ।

आगामी आवमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख रूपैयाँ, संघबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख रूपैयाँ, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड रूपैयाँ, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजस्व दुई अर्ब ५० करोड ३० लाख रूपैयाँ हुने अनुमान गरिएको छ ।

त्यस्तै, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख रूपैयाँ, ससर्त अनुदानबाट पाँच अर्ब ८३ करोड ५९ लाख रूपैयाँ, समपूरक अनुदानबाट ८४ करोड रूपैयाँ, विशेष अनुदानबाट ५६ करोड रूपैयाँ, चालु आवको नगद मौज्दातबाट तीन अर्ब रूपैयाँ र आन्तरिक ऋणबाट एक अर्ब २५ करोड रूपैयाँ परिचालन हुने अनुमान छ । चालु आव २०७९/८० मा ४२ अर्ब ६३ करोड ५७ लाख रूपैयाँको बजेट आएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्