काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेडले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई प्राप्ति गरेपछि सोमबारदेखि ‘एनआईएमबी एस क्यापिटल लिमिटेड’ का रुपमा एकीकृत व्यवसाय तथा कारोबार सञ्चालन सुरु गरेको छ । यस सम्बन्धमा दुवै संस्थाहरुको जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले प्रस्ताव पारित गरेको थियो ।
प्राप्तिपश्चात् कम्पनीको चुक्ता पुँजी ४७ करोड हुने, ४ लाख ८५ हजारभन्दा बढी हितग्राही खाता, ७ वटा शाखा कार्यालय र ५५ वटाभन्दा बढी कम्पनीको सेयर रजिस्ट्रार कार्यमार्फत करिब २५ लाखभन्दा बढी सेयरधनीलाई सेवा प्रदान हुने भएको छ ।
प्राप्ति (एक्विजिसन) पश्चात् साबिकको एनआईबीएल एस क्यापिटल लिमिटेडको नामसमेत एनआईएमबी एस क्यापिटल लिमिटेड हुने गरी परिवर्तन गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार ११ मा स्वीकृति प्राप्त भइसकेको छ । साबिकका दुवै संस्थाहरूको मिति असार १२ मा बसेको सञ्चालक समितिको छुट्टाछुट्टै बैठकको निर्णयबमोजिम प्राप्तिपश्चात् परिवर्तित नाम “एनआईएमबी एस क्यापिटल लिमिटेड” अनुसार कारोबार सुरु भएको छ ।
यस प्राप्ति (एक्विजिसन)पश्चात हाल गर्दै आएको मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेण्ट बैंकिङ व्यवसायमा गुणात्मक असर पर्नुको साथै प्रदान भइरहेका सेवाहरु अझ सुदृढ र सशक्त रूपमा विस्तार हुँदै धितोपत्र बजारमा आफ्नो विशिष्ट पहिचान बनाउन सकिने विश्वाससमेत क्यापिटलले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्