मकवानपुर । काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुलनजिकै आज बिहान पहिरो जाँदा काठमाडौं–हेटौंडा यातायात अवरुद्ध भएको छ ।
मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुलनजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
यता हेटौंडाबाट काठमाडौंका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिङ्गन प्रहरीले रोकेको छ। चितवनको मुग्लिन सडकखण्ड पहिराका कारण अवरुद्ध भएपछि काठमाडौंबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।
यसैगरी पश्चिमबाट आएका सवारीसाधन हेटौंडा त्रिभुवन राजपथ हुँदै काठमाडौं प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्