Shikhar Insurance
National Life

पोखरा महानगरपालिकाकाे अनुदान र आन्तरिक आय खुम्चिँदा घट्यो बजेट

सिंहदरबार संवाददाता
२०८० असार १२, मंगलवार १२:३२
Hyundai
NCELL
NIMB

गण्डकी । पोखरा महानगरपालिकाले चालु आवको तुलनामा आगामी आव ०८०र८१ का लागि एक अर्ब रूपैयाँ भन्दा कमको बजेट प्रस्ताव गरेको छ । चालु आवमा आठ अर्ब ९९ करोड दुई लाख २९ हजार रूपैयाँको बजेट ल्याएकामा आगामी आवका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रूपैयाँको बजेट सार्वजनिक गरिएको हो ।

संघ सरकारले दिने अनुदान र आन्तरिक आय खुम्चिँदा बजेटको आकार घटेको महानगरप्रमुख धनराज आचार्यले बताए । चालु आवको बजेटमध्ये आन्तरिक स्रोतबाट ४ अर्ब ३० करोड १५ लाख ५२ हजार बेहोर्ने अनुमान गरिएकामा हालसम्म १ अर्ब १९ करोड ७१ लाख ९२ हजार राजस्व संकलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घरजग्गा करबाट ८५ करोड रूपैयाँ उठाउने लक्ष्य लिइएकामा हालसम्म जम्मा ४३ करोड संकलन भएको छ । अर्थतन्त्रमा देखिएको मन्दी, चुनावी वर्ष, करको दर घट्नु जस्ता कारणले आन्तरिक आय खुम्चिएको महानगरप्रमुख आचार्यले बताए । उनका अनुसार प्रदेश र संघ सरकारले दिने अनुदान पनि घटेर आएको छ ।

आगामी आवको बजेटमा पनि आन्तरिक आयतर्फ दुई अर्ब २७ करोड ८७ लाख रूपैयाँको अनुमान गरिएको छ । स्रोतमा आधारित रहेर बजेट ल्याइएकाले कार्यक्रम तथा बजेटको कार्यान्वयनमा समस्या नआउने महानगरप्रमुख आचार्यले उल्लेख गरे।

“महानगरको नीति तथा कार्यक्रमअनुसार नै बजेट आएको छ, यसको कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ”, उनले भने, “असान्दर्भिक देखिएका केही कार्यक्रम हटाइएको छ, राम्रा कार्यक्रमको निरन्तरता छ, केही नयाँ आएका छन् ।”

महानगरको तथ्यांकअनुसार चालु आवको बजेट खर्च पनि न्यून देखिएको छ । यही असार ८ गतेसम्म जम्मा तीन अर्ब ९५ करोड ५५ लाख ८४ हजार खर्च भएको हो । जुन कूल बजेटको ४३.०५ प्रतिशत मात्र प्रगति हो । असार मसान्तसम्म ७० प्रतिशत खर्च हुने महानगरको अनुमान छ ।

महानगरले आगामी आवको बजेटमा भौतिक पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ । भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा दुई अर्ब ७० करोड रूपैयाँ बजेट विनियोजन गरिएको हो । आइतबार सार्वजनिक बजेटमा आर्थिक विकासतर्फ रु १० करोड, सामाजिक विकासमा रु छ करोड ५० लाख र नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

वडा कार्यालयतर्फ ७२ करोड ६० लाख रूपैयाँ, विभिन्न कोषहरूमा १४ करोड रूपैयाँ, सङ्घीय सःशर्त अनुदानतर्फ २ अर्ब २३ करोड ६२ लाख रूपैयाँ, प्रदेश ससर्त अनुदानतर्फ ८० लाख र सहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार रूपैयाँ विनियोजन गरेको छ ।

स्रोततर्फ सङ्घीय सरकार अनुदानबाट २ दुई अर्ब ७६ करोड ३२ लाख रूपैयाँ, प्रदेश सरकार अनुदानबाट १० करोड २३ लाख ६२ हजार रूपैयाँ, आन्तरिक आयबाट दुई अर्ब २७ करोड ८७ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सङ्घीय राजस्व बाँडफाँटबाट ३६ करोड ६२ लाख रूपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट आठ करोड २५ लाख रूपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट एक अर्ब एक करोड ७५ लाख रूपैयाँ स्रोत व्यवस्थापन गरिने भएको छ ।

सङ्घीय सरकार सहरी विकास आयोजनाबाट आठ करोड ४० लाख ९१ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । न्यून हुन जाने ४५ करोड ६८ लाख ६५ हजार रूपैयाँ चालु आवको अन्त्यमा बचत हुने मौज्दात रकमबाट व्यहोरिने जनाइएको छ ।

बजेटमा पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवर्द्धन, गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता र व्यावसायिक कृषि प्रणालीमा जोड दिइएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्